हुलाकी न्यूज, एजेन्सी, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आफ्नो देशमा कोरोना नभित्रिने भनेर ढुक्कसँग नबस्न सदस्य राष्ट्रहरूसँग अपिल गरेको छ । डब्ल्यूएचओले सबै राष्ट्रलाई कोरोना भाइरसविरुद्ध लड्न तयारी अवस्थामा रहनुपर्ने बताएको छ ।
बिहीबार थप ७ देशमा कोरोना भाइरस अर्थात कोभिड–१९ को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठनले जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन गरी सबै सदस्य राष्ट्रहरूलाई तयारीका लागि रहन अपिल गगरेको हो । जेनेभामा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले कुनै पनि मुलुकले कोरोना भाइरस भित्रिन्न भनेर बस्न नहुने भन्दै त्यस्तो गरे गम्भीर गल्ती हुने पनि सचेत गराएका छन् ।
कोरोनाले बोर्डरको मतलब नराख्ने पनि स्पष्ट पारेका छन् । चीनमा तुलनात्मक रुपमा कोभिड–१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उनले बताए । बिहीबार ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको छ । इरान, इटाली र दक्षिण कोरियामा देखिएको असरले कोभिड–१९ कति खतरनाक छ भनेर देखाएको महानिर्देशक गेहब्रेयससले बताए ।
सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि, अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्ने बताउँदै उनले सबै देश कोरोनाविरुद्ध लड्न पूर्ण रुपमा तयार भएर बस्नुपर्ने चेतावनी दिए ।



