हुलाकी न्यूज, नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा गत आइतबारदेखि सुरु भएको हिंसामा मृत्यु हुनेको संख्या २५ पुगेको छ । हिंसामा कम्तीमा २ सय ५० जना घाइते भएका छन् । बुधबार मात्रै ६० जनाभन्दा बढीलाई गोली लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रदर्शनकारी लाठी र बन्दुकसहित सडकमा आएपछि हिंसा भड्किएको हो । प्रहरी र अर्ध सैनिक बलले गस्ती बढाएपनि सरकारको विरोधमा प्रदर्शन जारी छ । प्रदर्शनकारीले लुटपाट, आगजनी र तोडफोडसमेत गरेका छन् । खासगरी मुस्लिम बाहुल्य नयाँदिल्लीको उत्तरी–पूर्वी क्षेत्र हिंसाबाट बढी प्रभावित भएको जनाइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन आग्रह गरेपनि प्रदर्शनहरू रोकिएका छ्रैनन् । जारी हिंसा नियन्त्रण गर्न असफल भएको भन्दै विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् । विपक्ष दल काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले सरकारले सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री अमित शाहको राजीनामा मागेकी छिन् ।
नागरिकता संशोधन ऐन सीएएले केही छिमेकी मुस्लिम बाहुल्य रहका देशहरूबाट गैरमुस्लिमलाई भारतीय नागरिकता लिन सहज बनाएको छ । नागरिकता सम्बन्धी नयाँ प्रावधानको विरोधमा विरोध प्रदर्शन भएको हो । यही प्रावधानको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो ।
आलोचकहरूले भने नयाँ कानुनी व्यवस्थाले मुस्लिम समुदानयमाथि विभेद गरेको र भारतको धर्मनिरपेक्ष संविधानलाई कमजोर बनाएको टिप्पणी गरेका छन् । तर प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता दलले भारतमा रहेका मुस्लिम विरुद्ध कुनै पक्षपात नगरेको दाबी गरेको छ । प्रधानमन्त्री मोदी सन् २००० मा गुजरातको मुख्यमन्त्री रहँदा मुस्लिम समुदायको बाहुल्य रहेका स्थानमा भएको धार्मिक दंगा नियन्त्रण गर्न नसक्दा एक हजार भन्दा बढीको मृत्यु भएको थियो ।
यसैबीच, हिंसा भड्किएका कारण नयाँदिल्लीमा परीक्षा रद्द गरिएको छ । सीबीआई बोर्डले हिंसा प्रभावित क्षेत्रमा बुधबार हुने कक्षा १० र १२ को परीक्षा रद्द गरेको हो । छात्र, अभिभावक तथा शिक्षकलाई अप्ठेरो नहोस् भनेर बुधबारको परीक्षा रद्द गरिएको हो, बोर्डले सूचित गरेको छ ।



