रोशनकुमार झा
राजनीति कहिल्यै पनि सिधा रेखा हिँड्दैन । राजनीतिमा कोही पनि स्थायी मित्र वा स्थायी शत्रु हुँदैन । दाँया देखाएर बाँया हिँड्नु र बाँया देखाएर दायाँ हिड्नु राजनीतिको मौलिक गुण हो । त्यसैले भनिन्छ, राजनीति सिधा रेखामा हिँड्दैन । गान्धी ‘वेवकुफ’ थिए, जसले जीवन भर राजनीति र नैतिकतालाई एकै तराजुमा दाँजेर हेरे ।
नेपालजस्तो देशमा जहाँ रैथाने मौलिक सोचमा राजनीति चल्दैन, त्यहाँ राजनीति सिधा रेखामा हिँड्ने कल्पना गर्नु पनि बेकार हो । जब राजनीति सिधा रेखामा हिँड्दैन, तब त्यसको विवेचना गर्नु एकदमै दूरुह कार्य हो । त्यसैले नेपाली राजनीतिका अधिकांश ठुला कहलिएका विश्लेषकहरुको विश्लेषण कहिल्यै मेल खाँदैन । हामीजस्ता नवसिखियाहरु राजनीतिको भुलभुलैयामा एउटा छेउलाई छामेर हेर्दा, राजनीति अर्को छेऊ पुगिसकेको हुन्छ ।
राजनीतिक विश्लेषकहरुको विश्लेषण नमिल्नुमा उनीहरुको दोष छैन । राजनीति सिद्धान्त, प्रवृति र समयको मागको आधारमा हुने भए कसैले विश्लेषण गर्न सक्छ । तर यहाँ राजनीतिको अभिष्ट नै सत्ता प्राप्ती, सत्ताबाट शक्ति आर्जन र शक्तिबाट धन आर्जनमा सिमित रहने गरेको परिप्रेक्ष्यमा राजनीतिक संस्कारको त विश्लेषण गर्न सकिन्छ, राजनीतिक लक्ष्यको होईन । हो, राजनीतिक संस्कारको विश्लेषण सबै विश्लेषकले ठिक ठिक गर्न सक्छ, अरु कुरा दैवको भर ।
त्यसैले विश्लेषकहरुले युक्ति निकालेका छन्, विश्लेषणको नयाँ स्वरुप निर्माण गरेर । यस्तो स्वरुप निर्माणको पछाडी उनीहरुको आफ्नै बाध्यता छ । अरु काम गर्न नसक्ने, एउटै कला लेख्ने काम जानेकाले रोजिरोटीको लागि लेख्नै पर्ने भयो । तर उनीहरुको लेखाई वा विश्लेषण राजनीतिक परिदृष्यमा मिल्दैन । यस्तोमा उनीहरुको दोकान बन्द हुने निश्चित हुन्छ । रोजिरोटीको सहारा दोकान त बन्द गर्नु भएन नि । त्यसैले उनीहरुले नयाँ युक्ति निकालेका हुन् ।
प्रथम, राजनीतिक विश्लेषण होईन, प्रतिकृया लेख्ने । दोस्रो, अमुर्त भावमा लेख्ने । र तेस्रो घटना हुन लाग्दा वा भईसकेपछि यसलाई शब्दको अस्थिपञ्जरमा, भावनाको मांसपेशी जडान गरी, सिद्धान्तको जामा पहिराई दिने । नेपालका विश्लेषकहरुले गर्ने विश्लेषणको मूलभुत प्रवृति यहि हो ।
राजनीतिक दलको झण्डा बोकेर, आफ्नो अहमको तुष्टीकरण गर्न अरु दल, समूदाय वा वर्ग क्षेत्रकाहरुलाई निस्तेज पार्न प्रतिकृया लेख्ने विश्लेषकहरु सबै भन्दा बढी र सबै भन्दा अग्रपंक्तिमा हुन्छन् । उनीहरु ‘मालिक’लाई खुशी पार्न लेखिएका त्यस्ता प्रतिकृयात्मक आलेखहरुको मुठो बोकेर विभिन्न ‘मन्दिर’हरु धाउने गर्छन् । यसबाट उनीहरुले नाम, दाम र राजनीतिक लाभको अपेक्षा गरेका हुन्छन् । वा कम्तीमा आफ्नो वर्चस्वको निरन्तरता चाहेका हुन्छन् ।
दोस्रो पंक्तिका लेखकहरु आफुलाई ‘विद्वान’ प्रमाणित गर्न ललायित हुन्छन् । संस्कृत, अंग्रेजी तथा अन्य भाषाका ठुल्ठुला शब्दहरु थोपारेर, राजनीति शास्त्रका विभिन्न सिद्धान्तहरुलाई क्लिष्ट भाषामा रुपान्तर गरेर पाठकलाई असहज हुने र उनीहरु बुझ्नै नसक्ने गरि लेखेर आफुलाई अब्बल ठहर्याउने प्रयास गर्छन् । उनीहरुको शब्द सामर्थ गजबको हुन्छ । महराजको नयाँ लुगा भन्ने कथाझैं मुर्ख बन्ने डरले पाठक, समीक्षक र सम्पादकले पनि त्यस्ता आलेखहरुमा प्रश्न उठाउने हिम्मत गर्दैनन् । यस्ता लेखकहरुको समूह सानो हुन्छ तर उनीहरुको लेखकीयको समाजमा सम्मान अधिक हुन्छ ।
तेस्रो समूह फेरी राजनीतिक कार्यकर्ताकै हुन् । जसले राजनीतिक दलहरुले गर्ने कृत्य, कुकृत्य सबैलाई सिद्धान्तको जामा लगाएर ‘जायज’ ठहर्याउने गर्दछ । यस्ता समूह सक्रिय सञ्चारकर्मीहरुको समूह हुन्छ । यो समूह सक्रिय पत्रकारिताको आडमा सार्वजनिक रुपमा राजनीति गर्ने गर्छ । पार्टीका ठुला ठुला नेताहरुसँग राम्रै उठबस हुने यस्ता लेखकहरु घटनाको पुर्व सुचना पाउँछन् । त्यो घटनाबाट हुन सक्ने सम्भावित प्रतिकृयाहरुलाई रोक्न राजनीतिक निकासको नाउँमा ती नियोजित घटनाहरु हुनको लागि माहौल सृजना गर्ने गर्दछ, गोयबल्स शैलीमा । घटना भए पछि उठेका विरोधका स्वरहरुलाई विभिन्न प्राकृतिक तथा कृत्रिम तथ्य वा तर्कको आधारमा गौण गर्ने जिम्मा उनीहरुकै हुन्छ । यस्ता लेखकहरुको पनि शब्द सामर्थ एकदमै गजबको हुन्छ । तर यिनिहरुको लेखाईमा सधैं भरि सैद्धान्तिक विचलन भन्ने आवश्य देखिन्छ । हिजो एउटा घटनालाई जायज ठहर्याउन गढिएका तर्क तथ्यहरु आज त्यहि घटनालाई नाजायज ठह¥याउन प्रयोग हुन थाल्छन् । समाजको लागि यस्ता लेखकहरु एकदमै खतरनाक हुन्छन् ।
लेखकहरुको चौंथो समूह पनि हुन्छन्, जो वास्तवमा लेखक होईनन् । मनका अभिव्यक्तिहरुलाई शब्दमा रुपान्तरण गर्दैमा लेखक भईदैन, राजनीतिक विश्लेषक त अझ परको कुरा । यस्ता लेखकहरु आदर्श खोज्छन् । मकाभेलीले जति पढाए पनि उनीहरु नैतिकताको कुरा गर्छन नै । उनीहरुको ईच्छा हुन्छ, यस्तो भई दिएको भए राम्रो हुन्थ्यो ।
तर वस्तवमा राजनीति र नैतिकताको बीचमा कुनै सम्बन्ध हुँदैन भन्ने कुरा अठारहौं शताब्दीको सुरुमै मकाभेलीले स्पष्ट गरि सकेका थिए । हिटलर र मुसोलीनजस्ता शासकहरुले त्यतिकै उनका कृति ‘द प्रिन्स’लाई गीता कुरान वा वाईवल मानेका छैनन् ।
मकाभेलीका अर्तिहरु जसरी पनि सफलता हात पार्नु अर्थात साध्य प्राप्तीको लागि जुनसुकै बाटो अपनाउन पछि नपर्नु त्यतिकै आएका होईनन् । उनलाई थाहा थियो की अन्तमा मानिसले सफलता हेर्ने गर्छन । र त्यसैको गुणगान गर्ने गर्छ ।
हाम्रो पुस्ताले गान्धी, मन्डेला तथा मार्टीन लुथर किंगका कथाहरु यति सुन्यौं की मकाभेलेलाई बिर्सिसकेका थियौं ।
मेरा विश्लेषणहरु नेपालीय राजनीतिको खेलमा कहिल्यै मिल्दैन । म भावनामा लेख्छु, र भावनाको कुरा गर्छु । मैले विश्लेषण गरेँ, संविधानसभा दुईको निर्वाचनमा मधेश केन्द्रित दलहरु ठुलै सफलता प्राप्त गर्नेछन् । उनीहरु नराम्ररी पराजित भए । मैले विश्लेषण गरेँ संविधान सभा दुईवाट सम्पुर्ण नेपालीले समान अधिकार प्राप्त गर्नेछन्, देशका आधा जनसंख्या सडकमा छन् । केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बन्दैन भन्ने मेरो विश्लेषणको विपरित भएको छ । मैले विश्लेषण गरेँ, मधेश केन्द्रित दलहरु विगतको गल्तीबाट पाठ सिक्दै अगाडी बढ्ने छ, तर त्यसको विपरित उनीहरु आन्दोलनलाई बिचमै छोडेर प्रधानमन्त्रीको चुनावमा भाग लिन पुगे । त्यसपछि मैले विश्लेषण गरेँ, मेरो विश्लेषण किन मिल्दैन ? र मैले पाएँ, म भावनालाई विश्लेषण भन्दै आएको छु । भावना विश्लेषण होईन । म राजनीतिक विश्लेषक होईन । पात्र, प्रवृति, प्रयोग र परिदृष्यहरु कहिल्यै समान नरहने नेपालीय राजनीतिक क्षितीजमा भावनाको र आदर्शको स्थान नहुनु कुनै नौलो कुरा होईन ।
मेरा केहि साथिहरु क्रिकेट वा फुटबलको म्याच हुँदा आफ्नो मनपर्ने टीम विरुद्ध खेल्ने टीमको पक्षमा बाजि थाप्छन् । मन पर्ने टीम जित्यो भने पैसा हारे पनि उनीहरु दुख हुँदैन । मनपर्ने टीम हार्यो भने खल्ती भरिन्छ । मैले पनि यहि युक्तिलाई पन्छ्याउने बारे सोच्न थालेको छु । यसो गर्दा, अब के होला ? भनेर भन्न सकिँदैन तर के चाहिँ नहोला भनेर आवश्य भन्न सकिन्छ । भावनाले ‘होस’ चिताएको कुराहरु नहुने ठोकुवामात्र गर्न सकियो भने पनि राजनीतिक विश्लेषणको एउटा आयामलाई समेट्न सकिन्छ ।
यस आधारमा विश्लेषण गर्दा म भन्न सक्छु, मधेशका नेताहरु कहिल्यै सुध्रिन्न । राजनीतिमा नैतिकता कहिल्यै भेटिन्न । साझा राष्ट्रवादको विकास हुने छैन । सम्पुर्ण समान्तकृतले कहिल्यै अधिकार पाउने छैन । हाम्रो देशमा कहिल्यै समानता देखिने छैन । मधेशीलाई कहिल्यै पनि हेपिन बन्द हुने छैन । खाडीबाट कंकाल आउन बन्द हुने छैन । समूदाय विशेषको एकाधिकार समाप्त हुने छैन । यो राष्ट्रमा शान्ति कहिल्यै आउने छैन । नयाँ नेपालको निर्माण हुने छैन । कम्तीमा अहिल्यैकै पुस्ताले राज्यकाज सञ्चालन गर्दासम्म नयाँ राष्ट्रियताको जन्म हुने छैन ।




गाँधी ‘बेवकूफ’ थिए… राजनीति र नैतिकतालाई एक्कै तराजूमा दाँजेर हेरे… यो हास्य को अन्दाज मा कि पाठकवर्ग लाई एउटा वैचारिक प्रक्रियामा भित्र्याउनु निमित्त हो?
प्रतिक्रिया र विश्लेषण माथि प्रकाश दिंदै नेपाल मा विद्यमान् विश्लेषण संस्कृतिमाथि दिएको विश्लेषण अत्यन्तै सटीक लाग्यो। शब्द-संयोजन दिन-ब-दिन प्रभावकारी हुंदै नवसिखियाहरु पनि कुनै दिन वरिष्ठ बन्ने दौड़मा हुन्छन् भन्ने मेरो विश्वास छ।
एउटा कुरा अरु पनि बोल्न मन लागि हालेछ…. मधेस को नेता कहिले सुध्रिन्न भन्ने जुन विश्लेषण छ यसलाई परिस्थिति अनुरूप सबैको कमी-कमजोरी र नीति-नैतिकता निर्माण गर्ने तिर पनि सोच्न जरुरी छ। मधेसलाई निकास दिन र नेपाल मा विद्यमान् अदृश्य शक्तिहरु, प्रभुहरु ले गर्दा के-कस्तो स्थिति बनि सकेको छ, र समाधान कसरी कता गएर हुने, यो सब विषयमा विश्लेषकहरु अझ भित्र छिर्नू पर्छ। योरोपीय मिशन, अमेरिकन लौबी, चाइना स्टेक्स र इंडिया स्ट्रेटेजीज…. अल दिज प्ले वेरियस पोलिटिकल गेम्स इन नेपाल। ट्राइ टु अन्डरस्टैन्ड देम।