हुलाकी न्यूज, नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा भएको हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिनअघि सुरु भएको प्रदर्शन हिंसाको रूप लिँदा डेढ सयभन्दा बढी घाइते भएका छन् । केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धनले घाइतेहरूको उपचार गराइरहेको अस्पतालको भ्रमण गरेका छन् । उनले हिंसामा परी मृत्यु हुनेको संख्या १३ पुगेको जानकारी दिए । घाइतेमध्ये कयौंको अवस्था गम्भीर रहेको उनको भनाइ थियो ।
ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ । संशोधित नागरिकता ऐनविरुद्ध स–साना झडपका बीच आइतबार प्रदर्शन सुरु भएको थियो । यसले सोमबार कतिपय स्थानमा साम्प्रदायिक रूप लियो । यस क्रममा जीउधनको क्षति भएको छ । मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो । प्रदर्शनकारी बिहानैदेखि सडकमा आएका थिए । दुवै पक्षबीच ढुंगा हानाहान चल्यो । घर, पसल तथा सवारीसाधनमा आगजनी गरिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोलीसमेत प्रहार ग¥यो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कानुनी व्यवस्था सहज बनाउन केन्द्र सरकारसँग आग्रह गरेका छन् । प्रदर्शनले उग्ररुप लिएपछि राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मंगलबार राति हिंसाग्रस्त इलाकाको भ्रमण गरेका छन् । सोमवारको प्रदर्शनमा ८१ व्यक्ति घाइते भएका थिए भने हिजोको घटनामा घाइते ६९ जनालाई उपचारका लागि अस्पताल पु¥याइएको थियो ।
परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजाललाई भेटेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको छ । लगत्तै जफरावाद, खजुरी खास, भजनपुरा, मौजपुरलगायत हिंसा प्रभावित क्षेत्रमा मंगलबार साँझ अर्धसैनिक बलका टुकडीहरूले मार्च गरेका थिए । त्यसपछि भने परिस्थिति सामान्य बन्दै गएको छ । उत्तरपूर्वीका दिल्लीका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ । जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।
नरेन्द्र मोदी सरकारले तीन महिनाअघि नागरिकता ऐनमा संशोधन गरेपछि त्यसको विरोधमा भारतभर प्रदर्शन हुँदै आएको छ । दिल्लीको साहिन वागमा दुई महिनादेखि धर्ना जारी छ । उनीहरूले सार्वजनिक रूपमै आक्रोश व्यक्त गर्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला भारतको अन्तर्राष्ट्रिय छविमा गिराउन हिंसा गराइएको पनि अनुमान छ ।



