हुलाकी न्यूज
काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित उच्च पदस्थको निधन भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा पाइलटका कारणभन्दा पनि नेपालको हवाई उडानको प्रद्धती र प्रणालीका कारण दुर्घटना भएको उल्लेख छ । उड्डयन मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा त्यस दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको लेखिएको छ । ‘पाथिभरा हेलिप्याडबाट उड्नेबित्तिकै हेलिकोप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको थियो । यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए, फलस्वरुप दुर्घटना भयो’ समितिले सम्भावित कारणको रूपमा उल्लेख गरेको छ ।
मन्त्रालयले दुर्घटनाको छानविन गर्नका लागि पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति बनाएको थियो । पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो । विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो ।
मौसम खराब भएकै कारणले पाइलटले हेलिकोप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने समितिको आँकलन छ । हेलिकोप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ । समितिले हेलिकोप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ । बिहानको ११ः४५ मा हेलिकोप्टर पाथिभरा अवतरण गरेको थियो । हेलिकप्टर १२ः३४ मा दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीहरूलाई उदृत गर्दै समितिले जमिन छाड्नेवित्तिकै हेलिकोप्टर दुर्घटनामा परेको बताएको छ । एयरबस हेलिकप्टरले निर्माण गरेको यो हेलिकप्टरको स्टान्डर्ड क्षमता ६ सीट हो । तर, आवश्यक परेको बेला हेलिकप्टरले ७ जनासम्म बोक्ने सक्ने स्पष्ट उल्लेख गरेको छ । १० हजार सीटभन्दा तलको उचाईमा उड्दा हेलिकप्टरले सजिलै पूरा लोड थाम्न सक्थ्यो ।
तर, पाथिभराको उचाईमा यो लोड अधिक थियो । लोडकै कारण दुर्घटनामा प¥यो भन्न नसकिए पनि त्यसले उडानमा कतै प्रभाव पा¥यो की भन्ने आंशका प्रतिवेदनमा गरिएको छ । सामान्यतया पाइलटले इन्जिन स्टार्ट गरेको केही मिनेटसम्म टेकअफ गर्दैनन् । तर, पाथिभरास्थित हेलिप्याडमा करिव ४५ मिनेट रोकिएको हेलिकप्टरको इन्जिन स्टार्ट भएको एक मिनेट भित्रै उडेको थियो । उड्नासाथ शक्तिशाली हिमआँधीको शिकार हेलिकप्टर बन्न पुगेको देखिएको छ । त्यसकारण केही मिनेट इन्जिन स्टार्ट गरी त्यसपछि मात्र उड्नुपर्नेमा हतार–हतार उडेको पाइएको छ ।
बिग्रिएको मौसमबाट बच्न पाइलटले हतार हतार उडाएपनि उनको यो निर्णय गलत बनिदिएको छ । दुर्घटनास्थल र हेलिप्याडबीचको दूरी ०.२ नटिकल माइलमात्र (३७० मिटर) रहेको छ । हेलिकोप्टरले राउन्ड लगाएको प्रतिवेदनले देखाएको छ । नेपालमा अतिविशिष्ट व्यक्ति (भीभीआईपी)को हवाई उडानका बेला अपनाउने प्रक्रिया स्पष्ट छ । तर विशिष्ट व्यक्ति (भीआईपी)को उडान प्रक्रिया स्पष्ट नतोकिएको पाइएको छ ।
२०७५ साल फागुन १५ गते पाथिभराबाट काठमाडौंका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनामा मन्त्री अधिकारी, नेपाल सरकारका उच्च अधिकारी, व्यापारी, सुरक्षाकर्मीसहित ७ जनाको निधन भएको थियो ।



