
हुलाकी न्यूज काठमाडौं : चालु आर्थिक वर्ष २०७६/०७७ को पहिलो चार महिनाको तथ्यांक अनुसार मधेशमा महँगी बढेको छ। गत वर्षको तुलनामा २ दशमलब २५ प्रतिशतले मधेशमा महँगी बढेको हो।
जबकी समग्र देशमा १ दशमलब ६१ प्रतिशतले महँगी बढेको छ भने सबभन्दा बढी महँगो भनिएको देशको संघीय राजधानी काठमाडौं उपत्यकामा जम्मा २ प्रतिशतले मात्र महँगी बढेको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा हिमाल र पहाडको तुलनामा मधेशमा महँगी बढेको देखाएको छ।
खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ। यसैगरी, गैर–खाद्य तथा सेवा समूहतर्फ घरायसी उपयोगिताका वस्तु एवम् सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि केही बढी छ।
प्रतिवेदन अनुसार मधेशमा महँगीको स्थिति ६ दशमलब ०४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा ३ दशमलब ७९ प्रतिशत मूल्यबृद्धिको स्थिति थियो। अर्थात पछिल्लो एक वर्षमा मधेशमा २ दशमलब २५ प्रतिशतले महँगी बढेको हो।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो चार महिनामा समग्र देशमा ५.७६ प्रतिशतले महँगी बढेको छ। यो गत वर्षको तुलनामा १.६१ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि ४.१५ प्रतिशत रहेको थियो।
काठमाडौं उपत्यकामा सबैभन्दा बढी ६.५ प्रतिशतको मूल्यवृद्धि कायम भएको छ भने त्यसपछि मधेश रहेको छ। पहाडमा ४.५६ प्रतिशत र हिमालमा ४.०१ प्रतिशत मूल्यवृद्धि रहेको छ।
अघिल्लो वर्ष काठमाडौं उपत्यकामा ४.५० प्रतिशत, पहाडमा ४.३१ प्रतिशत र हिमालमा ४.६२ प्रतिशत मूल्यवृद्धि रहेको थियो।



