हुलाकी न्यूज, काठमाडौँ : विदेशमा रहेका मधेशीहरुको छाता सङ्गठन गैर आवासीय मधेसी सङ्घ (एनआरएमए)का अन्तर्राष्ट्रिय समिति अध्यक्ष ई.वसन्त कुशवाहाले मधेस विकासका योजनाहरू प्रस्तुत गरेका छन्।
काठमाडौँमा आयोजित छैठौं रङभेद विरुद्धको एकता दिवसलाई सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले मधेशको विकाससँगै मधेशका समस्यालाई अन्तर्राष्ट्रियकरणको कार्य भइरहेको जनाए।
मधेशको संवृद्धिका लागि मधेशसँग सम्बन्धित विभिन्न विषयमा एनआरएमएले रिसर्च गरेको जानकारी दिँदै कुशवाहाले केही दिनमा त्यो योजनाहरू लागु गरिने बताए।
‘हामी मधेशको विकासका लागि विभिन्न अनुसन्धान गर्दैछौं। मोर्डन फार्मिङ, टुरिजम, बैङ्किङ सिस्टम, सोलार इनरजीलगायतको विषयमा रिसर्च गरेका छौँ। जो आउने दिनमा हामी मधेशमा लागु गर्नेछौँ।’ अध्यक्ष कुशवाहाले भने।
मधेशीहरु नेपालमा मात्रै नभएर विदेशमा पनि विभेदको सिकार हुनु परेको र नेपालीहरूले नै नेपाली नभनी विहारी र बङ्गाली भन्ने गरेको कुशवाहाले सुनाए।
‘अरू सङ्गठनले हाम्रो अनुहारको रङ्ग हेरेर साइड लगाउँछन्। पीडित ती मधेसी भाइहरूसँग हामी साँधैसँगै छौँ र रहने छौँ।’ कुशवाहाले प्रतिबद्धता जनाए।
‘गैर आवासीय मधेसी सङ्घले मधेशीहरुलाई प्रवासमा पनि संरक्षण र संवर्धन गर्दै आएको छ।’ उनले भने,‘अरू संगठनहरुले मधेशको पर्व त्योहारलाई नजरअन्दाज गरिरहँदा गैर आवासीय मधेसी सङ्घले त्यसलाई धूमधामका साथ मनाउने गरेको छ। मधेशको छठ, होली रमजान र इद हामी मनाउने गरेका छौँ। यस पटकको छठ खुल्ला समुद्रमा दोहामा त्यहाँको सरकारको स्वीकृतिले मनायौँ।’
प्राकृतिक विपद्का बेला मधेशमा एनआरएमएले विभिन्न सहयोगी कामहरू गर्ने गरेको उनले बताए।
यसै गरी मधेशका मुद्दा पनि अन्तर्राष्ट्रियकरण गर्न एनआरएमए लागेको जानकारी दिँदै अध्यक्ष कुशवाहाले भने, ‘हाम्रो सबभन्दा महत्त्वपूर्ण काम, हामीले अन्तर्राष्ट्रिय फोरमहरूमा आफ्नो आवाज उठाएका छौँ। हामीले पहिलो पटक संयुक्त राष्ट्र सङ्घमा २०१७ मा मधेशको आवाज उठायौँ। हामीले रंगभेदी व्यवस्थाको खिलाफ कुराहरू विश्व सामु कुरा राख्यौँ। मधेशको समस्यालाई अन्तर्राष्ट्रियकरण गर्यौँ।’
‘२०१८ मा पनि हामीले संयुक्त राष्ट्र सङ्घमा कुरा उठ्यौँ। नागरिकता समस्याको कुरा उठायौँ। स्पेसल र्यापोर्टलाई दस्ताबेजहरू बुझायौँ।’ अध्यक्ष कुशवाहाले भने,‘गैर आवासीय मधेसी सङ्घ मधेशको मुद्दा उठाउने अन्तर्राष्ट्रिय संस्था बनेको छ।’
मधेशको विकास र रंगभेदबाट मुक्तिका लागि प्रवासमा रहेका मधेशीहरु एनआरएमएमा जोडिनु पर्ने कुशवाहाले बताए। उनले प्रवासमा रहेका मधेशीहरुलाई एनआरएमएमा जोडिएर मधेस विकासको योजनामा सहयोगी बन्न पनि आग्रह गरे।
जनमत पार्टीका केन्द्रीय सदस्यसमेत रहेका कुशवाहाले रंगभेद समाप्तिका लागि जनमत पार्टीसँग आवध हुन पनि अपिल गरे।
‘जबसम्म देशमा रंगभेद छ तबसम्म यो देशको विकास हुने छैन। त्यसैले हामीले रंगभेदलाई जरैबाट उखालेर फाल्नु पर्नेछ।’ कुशवाहाले भने,‘विदेशमा रहेका सम्पूर्ण मधेशीलाई आग्रह गर्छु कि अहिले समय आएको छ। हाम्रो रंगभेदका विरुद्धको आन्दोलनमा सहयोग गर्नुस्। आफ्नो अमूल्य योगदान दिनुस् र मधेशको संवृद्धिमा सामेल हुनुस्।’