रमेश ठाकुर, रौतहट, २७ आश्विन । नेकपा एमालेलाई सरकार निर्माणमा सघाएको फोरम लोकतान्त्रिकले अध्यक्ष विजय गच्छदारको रुपमा नयाँ सरकारमा आफ्नो उपस्थिति जनाईसकेको छ । गच्छदारसँगै फोरम लोकतान्त्रिकबाट अर्का एकजना पनि मन्त्री बन्ने निश्चित भइसकेको भएपनि नाम अहिलेसम्म तय भइसकेको छैन । यस्तोमा मुस्लिम तथा मधेशी समुदायका प्रभावशाली नेता मो. मुस्ताक आलम फोरम लोकतान्त्रिकबाट मन्त्री हुनसक्ने चर्चा पार्टीभित्र व्यापक चलेको पार्टी स्रोतले जनाएको छ ।

फोरम लोकतान्त्रिकभित्र अहिले निकै चर्चा चलिरहेको मुस्ताक आलम को हुन् त ? दोस्रो संविधानसभाको निर्वाचनमा फोरम लोकतान्त्रिकका लागि विजयी सुरुवात गरेका मुस्ताक आलमको राजनीतिक जीवन र व्यक्तित्व कस्तो छ ? किन फोरम लोकतान्त्रिकबाट उनको मन्त्री बन्ने सम्भावना बलियो रहेको छ ?

मुस्ताक आलमको दाबेदारी बलियो किन ?
नेता आलम मुस्लिम तथा मधेशी समुदायका प्रभावशाली नेता मध्येका एक हुन् । उनलाई सरकारमा सहभागी गराएपछि पार्टी भित्रको समीकरणमा सहज हुने राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।

मधेशी तथा मुस्लिम समुदायको प्रतिनिधित्व गरिरहेका आलमलाई सरकारमा लैजाने तयारी गच्छदारको रहेको पार्टीकै एक नेताले पनि बताएका छन् ।

पार्टी भित्र एकदमै प्रभावशाली मानिने नेता मुस्ताक आलमलाई पार्टी अध्यक्ष विजय गच्छदार शान्त मिजाजका आदर्श नेताका रुपमा मान्ने गर्दछन् ।

दोस्रो संविधान सभाको निर्वाचनमा मुस्ताक आलम रौतहट क्षेत्र नं. २ बाट फराकिलो मत अन्तरले विजय भएका थिए भने मुस्ताक आलमको जितसँगै फोरम लोकतान्त्रिकले विजयी शुरुवात गरेको थियो ।

कांग्रेसको गढ मानिने रौतहटको क्षेत्र नं २ बाट नेता आलमले कहिले पराजित नहुने कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व यातायात मन्त्री अफताब आलमलाई ठुलो मत अन्तरले पराजित गर्दै देश मै मधेशी पार्टिको तर्फ बाट पहिलो विजयी उम्मेदवार भएका थिए ।

बारा, पर्सा र रौतहटमा मधेशी पार्टीहरु मै एकदमै लोकप्रिय रहेका आलम पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।

मुस्ताक आलमको राजनीतिक पृष्ठभूमि

mustak alam3
मुस्ताक आलमको राजनीतिक पृष्ठभूमि निकै बलियो र पुरानो मानिन्छ ।

राजतन्त्रमा कांग्रेसका प्रभावशाली नेता मानिने स्व. शेख ईद्रिसका नाति आलम ईद्रिस २ पटक कैबिनेट मन्त्री बन्दा हजुरबुवाको राजनीतिक सहयोगीका रुपमा काम गर्ने गर्थे ।

शेख ईद्रिसकोे निधन पश्चात ईद्रिसका छोरा तथा आलमका मामा अफताब आलम कांगे्रसका उम्मेदवार भई रौतहट क्षेत्र नं २ बाट निर्वाचन लड्दै आएका थिए । कांग्रेसको गढ रहेको रौतहट क्षेत्र नं २ बाट शेख ईद्रिस पश्चात निर्वाचन लडदै आएका अफताब आलम संविधान सभाको पहिलो निर्वाचनसम्म लगातार हारेका थिएनन् र सो क्रममा अफताब आलम ७ पटक नेपाल सरकारको मन्त्री समेत बनेका थिए ।

अफताब आलम पहिलो चोटि श्रम सहायक मन्त्री, त्यस्तै क्रमशः लगातार २ पटक वन सहायक मन्त्री, स्थानीय राज्य मन्त्री, भूमिसुधार स्वतन्त्र राज्य मन्त्री, स्वतन्त्र वन राज्य मन्त्री, श्रम तथा यातायात मन्त्री भई पद लाभ लिएका थिए ।

पहिलो संविधान सभाको निर्वाचन पश्चात आफनै मामासँग सम्बन्ध चिसिएपछि मुस्ताक आलम फोरम लोकतान्त्रिक प्रवेश गरेका थिए । बलियो पृष्ठभूमि भएका मुस्ताक आलम रौतहट क्षेत्र नं. २ मा कांग्रेसको किल्ला तोड्ने एक मात्र विकल्प रहेकाले दोस्रो संविधान सभामा सजिलै पार्टीबाट टिकट पाए र ७ चोटि मन्त्री बनेका कांग्रेसका दिग्गज नेता एवं पूर्व मन्त्री अफताब आलमलाई फराकिलो मत अन्तरले हराउन सफल भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.