हुलाकी न्यूज, काठमाडौँ :मधेशको विकासका लागी मधेश स्वराज हुनु नितान्त आवश्यक छ, जसले जनतालाई केन्द्रमा राखेर राज्य संचालन गर्छ। मधेश स्वराज स्थापना भई सकेपछि मधेशको चौतर्फी विकास गर्न निम्न किसिमका आर्थिक आधार स्तम्भहरू हुन सक्छन्।
१. कृषि उत्पादन
गैर आवासीय मधेशी संघले गरेको सर्वे, सर्वेक्षण र स्थलगत भ्रमणका आधारमा मधेशमा हुॅदै आएको परम्परागत कृषिका तरिकाहरूलाई आधुनिकीकरण गर्ने हो भने अहिले हुॅदै आएको उत्पादनमा कम्तीमा ३ गुणा वृद्धि हुन सक्छ। बस्न, खान र लगाउनका लागी मधेश आत्मनिर्भर हुन सक्छ। यसका लागी अन्य देशबाट आयात गर्नु पर्दैन्, बरु निर्यात गर्न सक्छ। एनआरएमएले स्पेन र पोर्चुगलमा गरेको स्थलगत भ्रमण अनुसार १ बिघा जमीनमा आधुनिक तरिकाले खेती गर्ने हो भने ४ जनाको परिवारले वर्ष भरि व्यस्थापन गर्न सक्छन्।
२. पर्यटन विकास
मधेशमा पर्यटन विकासका थुप्रै सम्भावनाहरु छन्। ती मध्ये लुम्बिनी र जनकपुरलाई मात्रै धार्मिक पर्यटनको रूपमा विकास गर्ने हो भने यो क्षेत्रलाई भेटिकन सिटी, मक्का र मदिना जस्तो पर्यटनको हब बनाउन सकिन्छ। यसका लागी आधारभूत संरचना, आधुनिक होटेल, अन्तर्राष्ट्रिय बिमानस्थल तथा टुर प्याकेज इत्यादिको विकास गर्नु पर्ने हुन्छ। यस क्षेत्रलाई विश्व भरिका करोड़ौ बौद्ध र हिन्दूहरूको आस्था केन्द्र भ्रमणका लागी मार्केटिंग गर्न सकिन्छ।
३. बैंकिंग प्रणाली
बिश्व बजारमा अझै पनि सुरक्षित (safe and secure) बैंकिंग प्रणालीको कमी छ। आजको खुल्ला बिश्व बजारमा विश्वासिलो र सुरक्षित बैंकिंग प्रणाली यहाँ बनाउन सकिन्छ। आजको डिजिटल दुनियाँमा बिश्वको जुन सुकै देशबाट बैंकिंग कारोबार गर्न सक्ने ब्यवस्था गर्ने हो भने हाम्रो विकासका लागी आर्थिक ब्यवस्था (funding) हुन सक्छ। बिश्वका धेरै देशहरु यस किसिमका प्रणाली विकास गरेर लागू गरिसकेका छन्।
४. फ्री ज़ोन प्रत्यक्ष बिदेशी लगानी (Free Zone – Foreign Direct Investment)
यस प्रणाली अन्तर्गत निश्चित क्षेत्रलाई बिजनेश, व्यापार र औधोगिकरणका लागी छुट्याइन्छ जहाँ बिदेशीहरूले आफ्नो १००% लगानीमा काम गर्न सक्छन्। यस्ता व्यवसायबाट हुने आम्दानी बिना कुनै रोकटोक आफ्नो देश लान सक्ने व्यवस्था हुन्छ। यसका लागी मधेश सबभन्दा उतम ठाऊँ हो जहाँ सस्तो कामदार उपलब्ध छन् र बिश्वको २ ठूला बजार (भारत र चीन) छन्। यस क्षेत्रमा भारत र चीन भन्दा सस्तो उत्पादन गरेर निर्यात गर्न सकिन्छ।
५. सौर्य ऊर्जा (solar energy)
मधेशमा जहाँ पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ। यूएईको आबूधाबीमा एउटा सौर्य परियोजनाबाट १,११७ मेगावॉट बिजुली उत्पादन हुन्छ। यो परियोजना ८ वर्ग कि. मी. मा अवस्थित छ। यो परियोजना तेस्रो मुलुकको कम्पनीले लगानी गरेर यस देशलाई ने.रू. २ रूपिया ७५ पैसा प्रति यूनिटमा बेच्छ। यतिको क्षमता बराबर सौर्य ऊर्जा मधेशमा उत्पादन गर्ने हो भने मधेशको अहिलेको ऊर्जा आवश्यकता भन्दा पनि निकै बढ़ी हुन्छ।
६. घरेलु उद्योग तथा साना देखि ठूला उद्योग
वैदेशिक रोजगारमा १० लाख जति मधेशीहरू बिदेशी भूमिमा कार्यरत छन्। औसतमा १ जनाले १ वर्षमा १ लाख नेपाली रूपयाॅ नेपाल पठाउॅछन् भने १ वर्षमा मधेशमा १ अर्ब रिमिटान्स जान्छ। यस हिसाबले यदि २ लाख ब्यक्तिले २ लाखको संख्यामा उद्योग स्थापना गर्ने हो भने औसतमा प्रति उद्योग ५ जनाको लागी स्वदेशमा नै रोज़गारी हुन सक्छ। यसले मात्रै १० लाख रोज़गारी सृजना हुन्छ।
७. वृक्षारोपण
मधेशको मौसम वातावरण सही अवस्थामा क़ायम राख्नलाई व्यापक रूपमा वृक्षारोपण गर्नु नितान्त जरूरी छ। हरेक क्षेत्रले यसमा योगदान दिनु आवश्यक छ। यसले बाढ़ी नियंत्रण, पर्याप्त वर्षा, पहिरो व्यवस्थापन तथा मरुभूमिकरणबाट जोगाई आर्थिक विकासमा ठूलो योगदान गर्नेछ।











(लेखक बसन्त कुशवाहा, गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समिति अध्यक्ष हुन्। वहाँ मध्यपूर्व तथा अफ्रीकी महादेशमा चर्चित ‘ईन्जिनियर ओफ दी ईएर’, ‘ईन्जिनियरिंग एक्सेलेन्स’, ससटैनाबिलिटी उतकृष्ट’ जस्ता अवार्डबाट बिभूषित हुनु हुन्छ।)