काठमाडौं- राष्ट्रपति रामवरण यादवले सबै राजनीतिक दललाई समेटेर अघि बढ्न नवर्निवाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्। पहिलो शिष्टाचार भेटका लागि शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति यादवले तराई–मधेसमा जारी आन्दोलन र नाकाको अवरोध हटाउन आग्रह गरेका छन्।

संवधानसभाबाट संविधान जारी भए पनि संविधान कार्यान्वयनमा जटिलता रहेको जनाउँदै राष्ट्रपति यादवले सबैसँग समन्वय गरेर मुलुकको समस्या समाधान गर्नुपर्नेमा जोड दिए। पेट्रोलियम पदार्थका साथै अत्यावश्यक वस्तुको आपूर्ति सहज नहुँदा जनताको दैनिक जीवन कष्टकर बन्दै गएको स्मरण गराउँदै उनले नाकामा जारी अवरोध हटाउन कूटनीतिक पहल अघि बढाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

जवाफमा प्रधानमन्त्री ओलीले सबै दललाई साथै लिएर अघि बढ्ने आश्वासन दिएका छन्। उनले नाकामा भएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल थालिसकेको राष्ट्रपतिलाई जानकारी गराएका थिए।

राष्ट्रपतिसँग झन्डै डेढ घन्टा बिताएका प्रधानमन्त्री ओलीले शीतलनिवासमै बिहानको खाना खाएका थिए। भेटका क्रममा राष्ट्रपति यादवले प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ओलीलाई बधाइ दिएका थिए।

नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.