
हुलाकी न्यूज, काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान दिवसको अवसरमा विरोध दिवस मनाउने भएको छ।
राजपा अध्यक्ष मण्डलले संविधान दिवसलाई विरोध दिवसका रूपमा मनाउने आधिकारिक निर्णय गरेको छ।
शुक्रवारदेखि जारी राजपा अध्यक्ष मण्डलको बैठकले असोज ३ गतेलाई विरोध दिवसको रूपमा मनाउने निर्णय गरेको हो।
हालसम्म संविधान संशोधन नभएको भन्दै राजपाले विरोध दिवस मनाउन लागेको जनाइएको छ।
दोस्रो संविधानसभाबाट संविधानको मस्यौदामाथि राय सङ्कलन गर्दादेखि नै मधेशवादी दलहरूले विरोध जनाउँदै आएका छन्।
संविधानको विरोधका क्रममा तेस्रो मधेस आन्दोलन भएको थियो। जसक्रममा ५३ जनाभन्दा बढी मारिएका थिए।
संविधान जारी हुँदा असोज ३ गतेभन्दा पहिलेदेखि नै मधेशका विभिन्न जिल्लामा कर्फ्यु लगाइएको थियो।
दोस्रो संविधान सभाबाट संविधान जारी हुँदा संविधानका धाराहरुमाथि छलफल नै नगरी फास्टट्रयाकबाट संविधान जारी भएको थियो।
जसको विरोधको क्रममा मधेशवादी दलहरूले संविधान सभा बहिष्कार गरेका थिए।
मधेशवादी दलहरूले राखेको माग सम्बोधन नभएको भन्दै उनीहरूले संविधान संशोधनको माग गर्दै आएका छन्।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान संशोधनको प्रयास गरे पनि असफल भएको थियो।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले पनि मधेस केन्द्रित राजपा र समाजवादी पार्टीसँग संविधान संशोधन गर्ने दुई बुँदे सहमति समेत गरेको छ।
तर, संविधान संशोधनको प्रक्रिया हालसम्म अगाडि बढेको छैन।
संविधान संशोधन प्रक्रिया अगाडि बढ्न नसकेपछि राजपाले सरकारबाट समर्थन फिर्ता लिएको छ भने समाजवादी पार्टी हालसम्म सरकारमा सहभागी छ।



