अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २६ आश्विन । हिन्दुहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आज पहिलो दिन घटस्थापना भएकाले हिन्दु धर्मावलम्बीको घरघरमा घटस्थापना गरिएको छ ।
दशैंको पहिलो दिन घटस्थापनाको साथै दुुर्गा माताको लागि कलश पनि भर्ने गरिन्छ । धनुषाको हरिहरपुरस्थित नयाँ बजारमा प्रत्येक वर्ष झैं यस वर्ष पनि भव्य रुपमा दुर्गा पुजाको आयोजना गरिएको छ ।
जनकपुर–ढल्केवर सडकखण्ड अन्तर्गत पर्ने नयाँ बजारस्थित दुर्गा माताको मन्दिरमा भव्य रुपले पुजाको तयारी गरिएको छ । दुर्गा माताको पुजाका लागि १००१ कलशसहितको यात्रा निकालिएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित हरिहरपुरको जलाद खोलाबाट कलशमा जल भरेर ल्याइएको र मन्दिरमा राखिएको पुजा समितिका अध्यक्ष राम किसुन यादवले जानकारी दिए ।
त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिकाको वडा नं. ४ कुम्हरौलबाट पनि कलश यात्रा निकालिएको छ । बिगत तीन बर्षदेखि मनाउँदै आईरहेको र यस बर्ष पनि दुर्गा माताको मन्दिरमा भव्य रुपले पुजाको तयारी गरिएको छ । दुर्गा माताको पुजाको लागि १०१ कलश निकालिएको छ । कलशमा नगरपालिका ५ स्थित महेन्द्रनगरको दुधमति पोखरीबाट जल भरेर ल्याइएको र मन्दिरमा राखिएको पुजा व्यवस्थापक जय कुमार राउतले जानकारी दिए ।
यसैबिच नगरपालिको बडा नं. १ रमदैयाबाट पनि कलश यात्रा निकालियो छ । प्रत्येक बर्ष झैं यस बर्ष पनि मन्दिरमा भव्य रुपले पुजाको तयारी गरिएको छ । दुर्गा माताको पुजाको लागि १००१ कलश निकालिएको छ । उक्त गाउँबाट एक किलोमिटर पर रहेकोे एक पोखरीबाट कलश भरेर ल्याईएको र मन्दिरमा राखिएको स्थानीय युवा धिरेन्द्र कुमार यादवले जानकारी दिए ।




