
हुलाकी न्यूज, जनकपुरधाम : घर–घरमा मासुको प्याकेट बाँडेर चुनाव जितेका नेताहरु अहिले पैसा छाप्नमा लागेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बताएका छन्।
बुद्ध जयन्तीको अवसरमा जनकपुरधामस्थित उद्योग बाणिज्य संघमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै डा.राउतले मधेशको राजनीतिमा योग्य व्यक्तिहरु आउन नसकेकोले भ्रष्टाचारीहरु हावी भएको बताए।
‘पढे लेखेका व्यक्तिहरु राजनीतिक शब्द उच्चारण गर्न चाहँदैनन्। उनीहरु राजनीतिबाट टाँढा हुन चाहान्छन्।’ डा.राउतले भने,‘भ्रष्ट तथा अयोग्य व्यक्तिहरु राजनीतिमा हावी भएका छन्। उनीहरुले पैसाको आधारमा चुनाव जिते। अहिले भ्रष्टाचार गर्दैछन्।’
डा.राउतले भने,‘घर–घरमा पैसा, मासु र रक्सी बाँडेर चुनाव जितेका नेताहरुले अहिले भ्रष्टाचार गर्दैछ। चुनावमा करोडौं रुपैंया खर्च गरेका नेताहरु अहिले पैसा छाप्दैछ।’
तर, डा.राउतले नेता मात्र दोषी नभई जनता पनि दोषी भएको बताए।
‘अहिले हाम्रो नेताहरु चरित्रहिन छन् भने त्यसको कारण हामी जनता पनि छौं। नेता एक्लै भ्रष्ट होइन हामी जनता पनि भ्रष्ट छौं। चुनावमा हामीले नेताद्धारा दिइएको पैसा, मासु र दारु नलिएको भए उनीहरु पनि भ्रष्ट हुने थिएन।’ डा.राउतले भने,‘हामी मात्र नेतालाई दोष दिन सक्दैनौं। जनताले आफ्नो नैतिक धरातल माथी लगेन भने नेता कसरी उच्च नैतिकवाद हुनेछ?’
नैतिकता विहिन र चरित्रहिन राजनीतिलाई विस्थापित गर्न जनमत पार्टी लागेको बताउँदै डा.राउतले भने,‘हामीले नैतिकवान नेता र नैतिकतामा आधारित राजनीति गर्नेछौं।’
उनले बुद्धको मार्गलाई प्रष्ट पार्दै त्यसलाई राजनीतिमा स्थापित गर्नु पर्ने बताए।





