हुलाकी न्यूज, जनकपुरधाम । बहुप्रतिक्षित शहीद दुर्गानन्द झा अस्पतालको कार्य थालनी भएको छ । धनुषाको नगराइन नगरपालिका वडा नं. २ स्थित जटहीमा १० वर्ष पूर्वदेखि छुट्याएर राखिएको जग्गा घेरवार गर्नका लागि कार्य संघीय संसद राजेन्द्र महतोले पहिलो चरणमा पर्खाल निर्माणको कामको थालनी गरेको छ ।
वर्षौदेखि शहिद दुर्गानन्द झाको जन्मथलोमा उनको नाममा अस्पताल निर्माणका लागि स्थानीयवासीले देखेको सपना बल्ल साकार हुने भन्दै स्थानीयवासीहरु समेत खुसी भएका छन् ।
धनुषाको क्षेत्र नं. ३ का सांसद राजेन्द्र महतोको संसदीय विकास कोषबाट ५० लाख रुपैयाँको लागतमा शहीद दुर्गानन्द झाको अस्पतालको पर्खाल संरचनाको कार्य सुरु भएको उपभोक्ता समितिका कोषाध्यक्ष रोहित चौधरीले जानकारी दिए ।
तत्काल अस्पतालको पर्खालले घेर्ने कार्य मात्रै भएकाले पूर्वाधार लगायत अन्य संरचनाका लागि पनि स्थानीयवासीहरुकै पहलमा हुने भएकाले प्रथम चरणमा अस्पतालको जग्गा घेरेर सुरिक्षत गर्ने कार्य भईरहेको यस उपभोक्ता समिति कोषाध्यक्ष रोहित चौधरीले बताए ।
जटहीका स्थानीयवासीहरुको १० वर्षपूर्व देखि नै शहिद दुर्गानन्द झाको नाममा अस्पताल बनाउने सपना बुनेका थिए । सो सपनाका लागि विभिन्न सरकारसंग अस्पताल निर्माणका लागि पहल समेत गरेका थिए । तर कसैले वास्ता नगरेपछि स्थानीयस्तरमै सांसदहरु मार्फत कार्य थालनीका लागि अगाडी बढेको स्थानीय रिता देवी चौधरीले बताइन् ।
साढे १७ कठ्ठा जग्गामा अत्याधुनिक सुविधायूक्त ५० शैय्याका अस्पताल निर्माण गर्ने लक्ष्य रहेको स्थानीयवासी रामनिवास यादवले जनाए । अध्यक्ष धैर्य मिश्रले पहिलो चरणमा पर्खाल लगाउने कार्य भईरहेको छ ।
उनले भने, ‘वर्षौ देखि अलपत्र रहेको शहिद अस्पतालको नाममा यस वर्ष माननीय राजेन्द्र महतोले ५० लाख बजेट दिएपछि बल्ल तारबारको काम भइरहेको छ । नभए यो पनि यस्तै हुन्थ्यो । यस वर्ष ५० लाख भएपनि अर्को वर्ष सरकारको कार्यक्रममा पारेर अस्पताल बनाई छाडने महतोले आवश्वासन दिएको छ ।’
कांग्रेसको सरकार बेलामा स्वास्थ्य तथा जनसंख्यामन्त्री गगन थापाले जटहीमा पुगेर २ वर्ष भित्रमै शहिद दुर्गानन्द झाको नाममा अस्पताल निर्माण हुने प्रतिवद्धता सहित घोषणा गरेका थिए । तर सो प्रतिबद्धता घोषणामै समिति भएपछि स्थानीयवासीहरु कांग्रेससंग क्रुद्ध समेत बन्न पुगेको थियो ।
दुर्गानन्द झाले तत्कालिन समयमा जनकपुरमा जानकी मन्दिर दर्शन गर्न आएका राजा महेन्द्र शाह माथि बम प्रहार गरेका थिए । बम प्रहारको आरोपमा उनलाई मृत्यूदण्डको सजाय दिइएको थियो ।




