हुलाकी न्यूज, काठमाडौं, २६ आश्विन । आजबाट हिन्दुहरुको महान पर्व विजयादशमी सुरु भएको छ । असत्यमाथि सत्यको विजयको रुपमा मनाइने विजयादशमीलाई नवरात्रा पनि भनिन्छ ।

नौ रात र दस दिनसम्म मनाइने यस पर्वमा देवी दुर्गाको विभिन्न स्वरुपको पुजा आराधना गरिन्छ । आश्विन शुक्ल पक्षको परेवा तिथिबाट सुरु हुने नवरात्रा आश्विन शुक्ल दशमी तिथिका दिन सकिन्छ । यस दस दिनको अवधिमा माता दुर्गाको नौ वटा स्वरुपको पुजा अर्चना गरिन्छ । प्रत्येक दिन भगवतीको फरक फरक स्वरुपको पुजा हुन्छ ।

तराई मधेशमा नवरात्रालाई दुर्गा पुजा पनि भनिन्छ । मधेशका जिल्लाहरुमा भव्यताका साथ दुर्गा आराधना गरिन्छ । घर घरमा जमरा राख्नुको साथै टोल टोलमा भगवतीको प्रतिमा अर्थात मुर्ती बनाई दस दिनसम्म नै भव्य पुजा आराधना र भजन किर्तन गरिन्छ । यस अवसरमा विभिन्न ठाउँमा मेला पनि लाग्ने गर्दछ । सप्तमी तिथिबाट दुर्गा मन्दिरहरुमा देवी दुर्गालाई बलि दिन सुरु गरिन्छ ।

जनकपुरधाममा राजदेवी माईको मन्दिरमा दर्शन र बलि प्रदान गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । विजयादशमी अवधिभर सबै दुर्गा मन्दिरमा भक्तजनहरुको भीड लाग्ने गर्छ ।

आज घटस्थापना, शैलपुत्रीको पुजा हुँदै

shailputri

विजयादशमीको पहिलो दिन आज घटस्थापना मनाइँदैछ । आज भगवतीको प्रथम स्वरुप शैलपुत्रीको पुजा आराधना गरिन्छ ।

विजयादशमीमा व्रत बस्नेहरुले आजबाटै नवरात्राको व्रत सुरु गर्छन र दशमीका दिन व्रत टुँग्याउँछन् । घर घरमा दुर्गापाठ गर्न सुरु गरिन्छ । आजकै दिन जमरा राखिन्छ । भगवतीको पुजास्थलमा विधिपुर्वक माटो राखि जौ छर्केर जमरा राख्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.