काठमाडौं: सन् २००७ र ८ को पहिलो र दोस्रो मधेश आन्दोलनपछि काठमाडौंसहित नेपालका अन्य भागमा ‘मधिशे’को पहिचानमा अर्को शब्द पनि थपिएको थियो- ‘फोरम’।

मधेशी जनअधिकार फोरमले आन्दोलन गरी मधेशको कुरा गर्दा मधिशेहरुको पहिचान बनेको थियो फोरम।

तर, अब नेपाली राजनीतिमा फोरम भन्ने कुनै संगठन रहेन।

सन् १९९७ मा विराटनगरमा गैर सरकारी संस्थाको रुपमा मधेशी जनअधिकार फोरमको स्थापना भएको थियो।

छरिएर रहेका मधिशेहरुले मधेशको हकहितका एउटै ठाउँमा आउने गरी ‘फोरम’ नाम दिइएको थियो।

मधेशी जनअधिकार फोरमका संस्थापक सचिव रामकुमार शर्मा भन्छन्, ‘फोरम स्थापना गर्नुको अर्थ थियो कि जुनसुकै पार्टीमा रहेका वा जुनसुकै क्षेत्रमा रहेका व्यक्तिहरुलाई स्थान दिने। त्यो स्थान अर्थात् ‘फोरम’मा आएर सबैले आ–आफ्नो योग्यताको उपयोग गर्ने भन्ने थियो।’

सबैका लागि स्थान उपलब्ध गराउने ध्येयका साथ ‘फोरम’ नाम राखिएको शर्मा बताउँछन्।

गाैर काण्डमा मारिएकाहरु

तर, शनिबार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण भएपछि फोरम शब्द हराउने छ। अब उनीहरुको संयुक्त पार्टीको नाम समाजवादी पार्टी (सपा) रहेको छ।

कता–कता विलायो फोरम?

पहिलो मधेश आन्दोलन चलेकै बेला उपेन्द्र यादवलाई वीरगंजबाट हेलिकप्टरमा काठमाडौं ल्याएर २२ बुँदे सहमति सरकारले गरेको थियो।

भाग्यनाथ गुप्ता

सरकारसँग भएको २२ बुँदे सहमतिकै आधारमा सडक आन्दोलन रोक्न नहुने तर्क उपाध्यक्ष भाग्यनाथ प्रसाद गुप्ताले गरेका थिए। उनले २२ बुँदे सहमति धोका रहेको दाबी गर्दै आन्दोलन जारी राखेका थिए। त्यसै बेला पहिलो पटक फोरममा फुट भएको थियो। र, गुप्ताको नेतृत्वमा मधेशी जनअधिकार फोरम मधेश स्थापना भएको थियो। उक्त पार्टी अहिले अस्तित्वमा छैन।

त्यसपछि फोरमको पहिलो महाधिवेशनमा अमर यादवले अध्यक्षको दाबेदारी गर्दा विवाद भएको थियो। उक्त विवादका कारण मधेशी जनअधिकार फोरमबाट बाहिरिएर अमर यादवले मधेश तराई फोरमको स्थापना गरेका थिए।

अमर यादव

उक्त पार्टी हालै नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विलय भएको छ।

त्यसैगरी, पहिलो संविधान सभाको निर्वाचनमा मधेशको ठूलो दल बनेर आएको मधेशी जनअधिकार फोरममा सरकारमा जाने विवाद भएपछि नेता विजय कुमार गच्छदारले पार्टी विभाजन गरेका थिए।

गच्छदारको नेतृत्वमा सरकारमा गएको पार्टी थियो मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)। गच्छदार नेतृत्वको उक्त पार्टी संघीय संसदको निर्वाचनअघि नेपाली कांग्रेसमा विलय भएको छ।

पहिलो संविधान सभाको अन्त्यतिर उपेन्द्र यादवसँग रुष्ट भएर नेता जेपी गुप्ताले पार्टी विभाजन गरेका थिए। र, सरकारमा सहभागी भएका थिए।

जेपी गुप्ताले मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) स्थापना गरेका थिए। जुन पार्टीबाट गुप्तालाई राजकिशोर यादवले हटाएका थिए र राजकिशोर यादवको नेतृत्वमा रहेको फोरम गणतान्त्रिक दुई वर्षअघि राजपामा समाहित भएको थियो।

यसैगरी, विजय गच्छदारको फोरम लोकतान्त्रिकबाट रुष्ट भएका सांसद संजय साह ‘टक्ला’ले मधेश क्रान्ति फोरमको स्थापना गरेका थिए। सांसद साह जेल गएपछि उक्त पार्टी पनि निस्क्रिय छ।

फोरमको स्थापना कालदेखि नै अध्यक्ष रहेका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालसँग एकीकरण गर्दा संघीय समाजवादी फोरम नेपाल भएको थियो। अर्थात् यादवले राईसँग एकीकरण गर्दा ‘मधेश’ शब्द हटाएका थिए।

शनिबार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरण गरेको छ। जसमा यादवले आफ्नो अर्को पहिचान अर्थात ‘फोरम’ शब्द पनि हटाएका छन्।

२०६३–०६४ को मधेश आन्दोलनबाट नेपाली राजनीतिमा स्थापित भएको मधेश शब्द अब हराएको छ।

२०४७ साल पछि नेपाली राजनीतिमा मधेशीहरुको पार्टी बनेर उदय भएको ‘सद्भावना’को पनि त्यसरी नै अन्त्य भएको थियो। राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी राजपामा र सरिता गिरी नेतृत्वको नेपाल सद्भावना पार्टी उपेन्द्र यादवको फोरममा विलय भएपछि सद्भावना इतिहास बनेको थियो।

http://www.pahilopost.com/content/20190505130055.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.