हुलाकी न्यूज, काठमाडौं, २६ आश्विन । नेपाल सदभावना पार्टीकी सहअध्यक्ष सरिता गिरीले पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । गिरीले सोमबार राति आफ्नो फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।
अधिकारको लागि सबै वर्ग र तपकाका मधेशी आन्दोलनमा रहेको बेला आन्दोलनरत दलहरुले प्रधानमन्त्रीको निर्वाचनमा सहभागिता जनाउनुले आन्दोलनकारीको मनोबल गिरेको भन्दै गिरीले मधेशी दलहरुको आलोचना गरेकी छन् ।
उनले आफैले अस्विकार गरेको संविधान अन्तर्गत रहेर प्रधानमन्त्रीको निर्वाचनमा भाग लिनु अनुचित ठहर गरेकी छन् । गिरीले मधेशी दलहरुको यस्तो कदमले विगत ६० दिनदेखि सडकमा रहेका मधेशीहरुको आत्मसम्मानमा चोट पुर्याएको र मधेश आन्दोलनलाई नै अन्यौलतातर्फ धकेलिदिएको जनाएकी छन् ।
नेतृ गिरीले मधेशीको अधिकारका लागि आफू संघर्षरत रहने भन्दै लोकतन्त्र, स्वतन्त्रता, समानता, सार्थक संघीयता, सामाजिक न्याय, स्वराजलगायतका मुद्दामा समान विचारधारा राख्ने व्यक्ति, बुद्धिजिवी, समूह र सामाजिक संघंसंस्थासँग सहकार्य गर्ने जनाएकी छन् ।



