
हुलाकी न्यूज, विराटनगर । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता कार्यकर्ताहरुलाई सडक संघर्षको तयारीमा जुट्न आह्वान गरेका छन् ।
नेपाल सरकारको उपप्रधान तथा स्वास्थ्य तथा संख्यामन्त्रीसमेत रहेका यादवले विराटनगरमा यस्तो बताएका हुन् ।
यादवले संविधान संशोधनप्रति सरकार गम्भीर नरहेको भन्दै सडक संघर्षका लागि नेता कार्यकर्ताहरुलाई तयारीमा जुट्न आह्वान गरेका हुन् ।
सरकार र सदनबाट संविधान संशोधनको वातावरण नबनेकाले सडक आन्दोलनको तयारीमा रहेको यादवको भनाइ थियो ।
संविधान संशोधनसहित दुईबुँदे सम्झौता गरी सरकारमा सहभागी भएका फोरम अध्यक्ष यादवले सडक संघर्षको विकल्प नरहेको बताएका छन् ।
उनले अहिलेका दुई तिहाइको कम्युनिस्ट सरकार संघीयता कार्यान्वयनको पक्षमा नरहेको आरोपसमेत लगाए ।
यता, राष्ट्रिय जनता पार्टी नेपालले पनि देशव्यापीरुपमा सडक र सदनमा सशक्त आन्दोलन गर्ने निर्णय गरिसकेको छ ।



