हुलाकी न्यूज, काठमाडौं : संघीय संसदमा रहेका दुई मधेशवादी दलले सरकारलाई चेतावनी दिएका छन्। संघीय संसदको बजेट अधिवेशनको पहिलो दिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले चेतावनी दिएको हो।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले राजपाको माग सम्बोधन नभए आन्दोलनमा जाने चेतावनी दिए। झाले सरकारले आफूहरुलाई आन्दोलनका लागि बाध्य बनाइरहेको पनि दाबी गरे।

‘सरकार हामीलाई आन्दोलनका लागि बाध्य बनाइरहेको छ । जबरजस्ती सडकमा धकेलिरहेको छ,’ झाले भने,‘माग सम्बोधनका लागि हामीलाई सडकमा जान बाध्य नपारियोस्।’

नेता झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको प्रति आपत्ति जनाउँदै सरकारले यसअघिको अधिवेशनमा प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पूरा नगरेको आरोप लगाए। उनले बारा–पर्साका हावाहुरी पीडितलाई सरकारले राहत र पुर्नस्थापनाको व्यवस्था गर्न नसकेको भन्दै आलोचना गरे। झाले हावाहुरी पीडितको घर नेपाली सेनालाई बनाउन दिएकोप्रति आपत्ती समेत जनाए ।

यसैगरी, सरकारमा सहभागी रहेको संघीय समाजवादी फोरमले सरकारसँग सहकार्य टुट्न सक्ने चेतावनी दिए। संघीय संसदको चौथो अधिवेशनमा दलीय प्रतिनिधिका रुपमा शुभकामना मन्तव्य दिँदै नेता राजेन्द्रप्रसाद श्रेष्ठले सरकारसँगको सहकार्य टुट्न सक्ने चेतावनी दिएका हुन्।

‘यो सरकारसँग हामीले दुई बुँदे सहमति गरेर सहकार्य गरेका हौं। एक वर्ष पुगी सक्दा पनि सहमति कार्यान्वयनका बारेमा कुनै प्रगति भएको छैन्’ उनले भने, ‘संविधान संशोधनलाई बेवास्ता गरिए सरकारसँगको सहकार्य टुट्न सक्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.