
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पदाधिकारी बैडकमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतको चर्चा भएको छ।
पदाधिकारी बैठकको तेस्रो दिन राजपाका वरिष्ठ नेता एवं संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले डा.सीके राउतले जनमत संग्रहको मुद्दा नछोडेको दाबी गरेका छन्।
राजपा हालसम्म एकीकृत हुन नसक्दा डा.राउतलाई फाइदा भइरहेको बताउँदै नेता कर्णले भने,‘मधेश राजनीतिमा नयाँ शक्ति आइसकेको छ। उसले मधेशको मुद्दा छोडेको छैन। जनमत संग्रहको कुरा पनि उठाउँदैछ। हामीले सोच्नु पर्नेछ।’
नेपालभन्दा बाहिर पनि डा.राउतको संगठन शक्तिशाली रहेको जिकिर गर्दै नेता कर्णले कतार भ्रमणको चर्चा गरेका थिए।
‘म कतार भ्रमणमा गएका बेला सीके राउतको संगठन देखेको थिए। त्यहाँ राजपाको संगठन बनाउन पनि प्रयास गरे तर भएन। कतारमा कुल चार लाख नेपाली छन् जसमा २ लाख मधेशी छन्।’ बैठकमा कर्णले भने,‘सीके राउतका समर्थकहरुले भन्छन् कुनै मु्द्दा छोडिएको छैन। तर, केपी ओलीले मोछमा ताउ फेरेर हिडेको छ।’
डा.राउतको प्रकरणमा राजपालाई कुनै जानकारी नभएको विषयमा शिर्ष नेतासँग प्रश्न गर्दै कर्णले अब पार्टीको नयाँ रणनीति बनाउनु पर्ने जनाए।
यसैगरी, राजपाको बैठकमा अन्य नेताहरुले पनि जनमत पार्टी र डा.राउतको विषयमा चर्चा गरेका छन्।




