रमेश ठाकुर, रौतहट, २५ आश्विन । प्रधानमन्त्री निर्वाचन हुनु केही मिनेट अगाडि मात्रै सत्ता साझेदारीमा सहभागी भएको हुने भनी टुँगो लगाएको फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार अन्ततः सरकारमा सहभागी हुने भएका छन् । गच्छदारको नेतृत्वमा मधेशी तथा मुस्लिम नेतासमेत सरकारमा जाने सम्भावना देखिएको छ ।
गच्छदार उपप्रधानमन्त्रीको हैसियतमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् । अन्तिम समयमा संविधानसभा छाडेको फोरम लोकतान्त्रिक एमालेसँग भएको ८ बुँदे सहमतिसँगै सत्ता साझेदारीमा सहभागी भएको थियो ।
फोरम लोकतान्त्रिक पार्टी सरकारमा जाने तयारीमा लागेको छ । सरकारमा जाने मन्त्रीहरु छान्न सोमबार बिहान ११ बजे बसेको पार्टी बैठकले पार्टीभित्रको टिकाटिप्पणी पश्चात मन्त्रीको टुँगो बिना नै बैठक सकेको पार्टी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार यो पटक मधेशी तथा मुस्लिम नेता मो. मुस्ताक आलम मन्त्री बन्ने प्रबल सम्भावना रहेको तथा पार्टीभित्र अधिकांश सभासदहरु नेता आलमलाई मन्त्री बनाईनुको पक्षमा रहेका छन् । मुस्ताक आलम मुस्लिम तथा मधेशी समुदायका प्रभावशाली नेता हुन् । उनलाई सरकारमा सहभागी गराएपछि पार्टी भित्रको समिकरणमा सहज हुने राजनीतिक विश्लेषकहरुको विश्लेषण छ ।
मधेशी समुदाय तथा मुस्लिम समुदायबाट गरी एउटै माननीयबाट दुबै समुदायको प्रतिनिधित्व हुने भएकोले मुस्ताक आलमलाई पनि सरकारमा लैजाने गच्छदारको तयारी रहेको एक नेताले बताए ।
गच्छदारले उपप्रधान एवं भौतिक योजना तथा यातायात लिने छन् भने बाँकी दुई मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको नेताहरुले बताएका छन् ।
पार्टीभित्र एकदमै प्रभावशाली मानिने नेता मुस्ताक आलमलाई पार्टी अध्यक्ष विजय गच्छदार शान्त मिजाजका आर्दश नेताका रुपमा मान्ने गर्दछन् ।
दोस्रो संविधान सभाको निर्वाचनमा मुस्ताक आलम रौतहट क्षेत्र नं. २ बाट फराकिलो मतअन्तरले विजय भएका थिए भने मुस्ताक आलमको जितसँगै फोरम लोकतान्त्रिकको विजयको शुरुवात भएको थियो ।
कांग्रेसको गढ मानिने रौतहटको क्षेत्र नं २ बाट नेता आलमले कहिले नहारेका कांग्रेसका पूर्व यातायात मन्त्री अफताब आलमलाई ठुलो मतअन्तरले पराजित गर्दै देश भरीमै लोकतान्त्रिकको पहिलो बिजयी उम्मेदवारका रुपमा चर्चा पाएका थिए ।




yee neta hun bhanne ki sambidhan ma deepawali manae uslai jiudai jalai dinxu…..ab yo kasri mantri banla ta