
हुलाकी न्यूज, जनकपुरधाम : बारा र पर्सामा हावाहुँरीबाट मृत्यु भएकाहरुको प्रति संघीय सरकारले राष्ट्रिय शोक घोषणा गरेन। जसकारण संघीय सरकारको चर्को आलोचना हुँदैछ। शोक घोषणा गर्ने विषयमा अहिलेसम्म संघीय सरकार मौन रहेको छ।
घटना भएको एक सातापछि प्रदेश २ सरकारले शोक मनाउने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश २ सरकारको मन्त्रिपरिषद् बैठकले चैत ३० गते शोक मनाउने निर्णय गरेको हो।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवका अनुसार चैत ३० गते प्रदेश भरी २ मिनेट शोक मनाइने छ। ११ बजे दुई मिनेट शोक मनाउने निर्णय भएको उनले जनाए।
यसैगरी, प्रदेश सरकारले मृतक परिवारलाई किरिया खर्चबापत २५ हजार रुपियाँ उपलब्ध गराउने प्रदेश गरेको छ। मंगलबार उक्त रकम वितरणको तयारी गरिएको छ।
यसैबीच प्रदेश २ को मन्त्रिपरिषद् बैठकमा केन्द्र सरकारले प्रभावित क्षेत्र बनाउने भनेको आवासका विषयमा छलफल भएको छ। कतिपय मन्त्रीहरु केन्द्र सरकारको विरुद्ध देखिएका छन्।



