
हुलाकी न्यूज, कलैया (बारा) : गैर आवासीय मधेशी संघ (एनआरएमए)को सहयोगमा हावाहुरीबाट प्रभावित बारा जिल्लाको विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
हुलाकी हेल्प सेन्टरमार्फत विहीबार बारा जिल्लाको भलुवाही तथा पुरैनियाको गछियाटोलमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।
शिविरमा करिब ६ सयभन्दा बढीले उपचार पाएको हुलाकी हेल्प सेन्टरका बारा संयोजक जेपी साहले जानकारी दिए।
उनका अनुसार भलुवाहीमा आयोजित शिविरमा ३० जनाभन्दा बढी गर्भवती महिलाले उपचार पाए भने एक सयको संख्यामा बालबालिकाले उपचार पाएका छन्। हावाहुरीमा चोटपटक लागेको तथा अन्य रोगहरुबाट पीडित गरी करिब ५० सय जनाको उपचार भलुवाहीमा भएको थियो।
एनआरएमएको आर्थिक सहयोगमा हुलाकी हेल्प सेन्टरले आयोजना गरेको उक्त विशिवरमा जनमत पार्टीका स्वयम्सेवकहरुले मदत गरेका थिए।
भलुवाही पछि हुलाकी हेल्प सेन्टरको टीमले पुरैनियाको गछियाटोलमा पनि शिविर चलाएको थियो।
यससँगै बारा र पर्साका हावाहुरी पीडितका लागि गैर आवासीय मधेशी संघ (एनआरएमए)को सहयोगमा हुलाकी हेल्प सेन्टरले चारवटा स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
शिविरलाई डा.आलोक यादव, डा.हरिस यादव, डा.महेन्द्र पाण्डे, डा.रामजी राम तथा स्वास्थ्यकर्मी पुजा झालगायतले सहयोग गरेका छन्। त्यस्तैःएनआरएमए-साउदी अरेबियाको नासर अल हाजरी फदली कैम्प बाट २८२७/- साउदी रियाल आर्थिक सहयोग गरेका छन्।
हुलाकी हेप्ल सेन्टरले प्रभावित क्षेत्रहरुमा थप स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी गरेको छ।




