
हुलाकी न्यूज, काठमाडौं : जिल्ला अदालत धनुषाले जनकपुर बम काण्डमा मुछिएका पूर्वमन्त्री संजय साहसहित ७ जनाविरुद्ध जन्मकैदको फैसला सुनाएको छ।
न्यायाधीश राजेशकुमार कटवालको इजलासले साहसहित जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति भनिने रन्जित झा, अर्को भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, ओमप्रकाश चौधरी, सुरेश कुमार कर्ण, मुकेश कर्ण र रिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाएको छ।
यसैगरी, ओमप्रकाश यादवलाई दश वर्ष कैद सुनाइएको छ।
२०६९ बैशाख १८ गते जनकपुरस्थित रामानन्द चौकमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो।
जिल्ला अदालतको फैसला आएपछि पूर्वमन्त्री साहका परिवारजनले पुर्नावेदनका लागि माथिल्लो अदालत जाने प्रतिक्रिया दिएका छन्।
हुलाकी न्यूजसँग कुराकानी गर्दै साहका परिवारजनले न्यायालयबाट न्यायको अपेक्षा गरिएपनि उचित न्याय नपाएको भन्दै माथिल्लो अदालत जाने बताए।
राजनीतिक दबाबबाट अदालतको फैसला प्रेरित भएको आशंका पनि उनीहरुले व्यक्त गरेका छन्।



