हुलाकी न्यूज, काठमाडौं, २५ आश्विन । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका चारबटै घटक र बिजय गच्छदारले मधेशीसँग गद्दारी गरेको आरोप लगाएका छन् । गुप्ताले मोर्चाआबद्ध दलहरुले प्रधानमन्त्री निर्वाचनमा भाग लिएर मधेश आन्दोलन, मधेशी सहिद र मधेशी जनतालाई धोका दिएको बताएका हुन् ।
गुप्ताले मधेशी दलहरुले पहिलो र दोस्रो मधेश विद्रोहपछि पनि मधेशीसँग गद्दारी गरेको बताउँदै अहिलेको गद्दारी पनि अनपेक्षित नरहेको जिकिर गरेका छन् । उनले प्रधानमन्त्रीको चुनावमा भाग लिएका नेताहरुले मधेशी सहिदको रगतलाई कुल्चेर सत्ताका लागि आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।
उनले मधेशमा अब एउटा क्रान्तिकारी संगठनको आवश्यकता रहेको जनाउँदै त्यस्तो संगठन भएको भए संयुक्त मधेशी मोर्चा र बिजय गच्छदारले अहिलेको जस्तो दुष्कार्य गर्ने मौका पाउने थिएनन् भन्ने विचार व्यक्त गरेका छन् ।
उनले मधेशी दलहरुको यस्तो कदमले मधेशका मुद्दा समाप्त भएको सोच्न नहुने पनि स्पष्ट पारेका छन् । मुलुकलाई बिखण्डनबाट रोक्न, मुलुकभित्र दिर्घकालीन सामाजिक तथा सामुदायिक सद्भाव कायम राख्न र मुलुकका नागरिकको समस्याको समाधानमा बिदेशी चलखेललाई निरुत्साहित गर्न तत्काल कदम चाल्ने दायित्व अब राज्यको रहेको उनको ठहर छ ।
गुप्ताले संसदमा पक्षमा होस् वा बिपक्षमा मतदान गरेर संबिधानसभामा रहेका मधेशी दलहरु राज्यपक्षमा गएको दाबी गरेका छन् ।



