हुलाकी न्यूज (टिप्पणी) काठमाडौं : डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिले समग्र मधेशलाई कयौं फाइदा हुने भएको छ। मधेशमा हिंसात्मक आन्दोलनबाट हुने सयौंको मधेशीको हत्या रोकिनेछ भने मधेशले अन्तर्राष्ट्रिय रुपमा शक्ति आर्जन गरेको छ।

प्रदेश २ को ८ जिल्लामा खुम्चिदै गएको मधेशवाद अब २३ वटै जिल्लासहित विभिन्न देशमा रहेका मधेशीहरुबीच बलियो भएर आउनेछ। साथै नेपालको विभिन्न जिल्लामा कार्यरत मधेशी कर्मचारी, नाई, व्यापारी तथा शिक्षकहरुलाई मधेशबाद बारे चर्चा गर्न र शान्तिपूर्ण आन्दोलनसँग जोडिन सहज हुनेछ।

समग्र मधेशलाई के–के भयो फाइदा?

१. मधेशमा विभिन्न हिंसात्मक आन्दोलनमा करिब ३५० जनाभन्दा बढी मधेशी मारिएका छन्। पहिलो, दोस्रो र तेस्रो मधेश आन्दोलन गरी १९३ जनाभन्दा बढी मारिएका छन् भने करिब ५० जनाको गैरन्यायाधिक हत्या भएको छ।
११बुँदे सहमतिले शान्तिपूर्ण मार्गबाट लोकतान्त्रिक प्रक्रियाअनुसार मधेशको समस्या समाधान गर्ने बाटो खोलेको छ भने राज्यबाट कुनै दमन नगर्ने सहमति भएको छ। यसले आगामी दिनमा मधेशमा हुने आन्दोलनमा मधेशीजनको क्षति कम हुनेछ।

२. उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको नेतृत्वको असफलताका कारण ८ जिल्लामा खुम्चिएको मधेशबादलाई पूर्वदेखि पश्चिमसम्म विस्तार तथा थप शक्त बनाउने छ। यस कार्यक्रममा राज्य पक्षबाट कुनै बाधा खडा गरिने छैन।

३. टीकापुरसहितको मधेश–थरुहटमा नेत्र विक्रम चन्द (विप्लव) समूहलगायत विभिन्न संगठन बढाउन सक्ने हिंसात्मक गतिविधिलाई रोक्नेछ। थारु आन्दोलनकारी रेशम चौधरीसहित अन्यायमा परेका थारु नेताहरुलाई शान्तिपूर्ण मार्गबाट न्याय दिलाउने छ। राजपा र फोरम नेताहरुका कारण मधेशीसँग दुरी बढाएका थारु नेताहरुलाई मधेशसँग जोड्नेछ।

४. विभिन्न मधेशवादी दल र व्यक्तिहरुको अर्कमन्यताले मधेशी युवाहरुमा निरासा छाएको थियो। निरासामा परेका मधेशी युवाहरुले मधेश भावनालाई अगाडि बढाउने अवसर मिलेको छ।

५. फाेरम नेताकाे सत्ता मोह र मधेशलाई बारम्बार दिएको धोकाले सर्वसाधारण मधेशी पनि राजनीतिबाट निरास थिए।
राजपाले श्रीमतिलाई सांसद बनाउने मोह, नरमाया ढकाललाई सांसद पद बेच्ने कार्यबाट उनको असली चेहरा बाहिर आइसकेको थियो। उनीहरुकाे सम्धी–सम्धन मोह पनि उजागर भएको छ। पार्टी अध्यक्षाले त आफू पार्टी अध्यक्ष र श्रीमतीलाई मन्त्रीसमेत बनाएका छन्। यस्ता मधेशी नेताहरुका कारण मधेश राजनीति बदनाम भएको थियो। अब यो सहमतिबाट मधेश राजनीतिमा नयाँ उत्साह थपिएको छ।

६. प्रदेश २ सहित सम्पूर्ण मधेशको आर्थिक बृद्धिदर घट्दै गएको छ। साक्षरता कम हुँदै गएको छ। भ्रष्टाचार मौलाएको छ। यस्ता समस्या समाधानका लागि अब नयाँ राजनीतिक स्वरुपले काम अगाडि बढ्नेछ भने यसमा नेपाल सरकारले पनि सहयोग गर्ने छ।

स्वराज आन्दोलनलाई के–के भयो फाइदा?

७. मधेश स्वराज आन्दोलनलाई नेपाल सरकारले संस्थागत गरेको छ। अर्थात नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनको बराबरीको हैसियतमा सहमति पत्रमा हस्ताक्षर भएको छ। यसले अन्तर्राष्ट्रिय समुदायलाई स्वतन्त्र मधेश गठबन्धनमाथि विश्वास बढाएको छ।

८. यूएनपीओ पछि अब संयुक्त राष्ट्रिय संघीय निकायहरुसँग सहकार्य र सहयोग गर्ने बाटो खोलेको छ।

९. औपनिवेशिक शासनबाट मुक्तिका लागि शान्तिपूर्ण मार्गबाट जनमत संग्रह गर्ने अवसरलाई नेपाल सरकारले स्वीकार गरेको छ।

१०. मधेश स्वराज आन्दोलनमा गैरमधेशी तथा विदेशीहरुको सहयोग पनि उतिकै आवश्यक छ। मधेशकै भूमीमा बसोबास गर्ने गैरमधेशीले पनि जनमत संग्रहमा मतदान गर्ने वातावरण बनाएको छ। उनीहरुका लागि पनि मधेश सुरक्षित ठाउँ बनाएको छ।

११. स्वराज आन्दोलनको टाइमलाइन अनुसार नै यो सहमति भएकोले संसदबाट नै स्वराज मधेश घोषणा गर्ने अवसर जुटेको छ।

1 COMMENT

  1. बिदेश मा रहेका मधेसी ले जनमतसंग्रह मा भाग लिन पाउनेछन कि नाई यदि नपाईने हो भने त्य्सतो ब्यबस्था मिलाउनुपर्यो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.