हुलाकी न्यूज, रौतहट २५ असोज । रौतहटमा सशस्त्र प्रहरी घुमुवाको मिलमतोमा तस्करी फस्टाइरहेको स्थानीयहरुको आरोप छ ।
रौतहटको बंकुल, महादेवपट्टी, लक्ष्मीपुरसहित जिल्लाका विभिन्न नाकाबाट हाल गैरकानुनी रहेको विस्पोटक पदार्थ (पटखा) सहित पेट्रोल, डिजल कपडाको तस्करीमा सघाई रहेको स्थानीय महादेवपट्टीका एक प्रत्यक्षदर्शीले बताएका छन् ।
करीब २ महिना देखि खुट्टाको बिरामीबाट बिदामा रहेका सशस्त्र प्रहरीका हवलदार तथा हाल रौतहटमा सादा पोसाकमा ड्युटी खटेका उमेश पंडित र सशस्त्र प्रहरी जवान रत्न सागर झाको मिलोमतोमा जिल्लाको विभिन्न नाकाहरुबाट विस्फोटक पदार्थ लगायत खाद्यान सामग्री निर्वाध रुपमा तस्करी भईरहेकोे श्रोतले जनाएको छ ।
विगतका दिनहरुमा समेत तस्करलाई सघाउन ख्याति प्राप्त गरेका घुमुुवा प्रहरीद्वयले स्थानीय व्यपारीलाई सघाएर हाल लाखौं बराबरको रकम अवैध रुपमा आर्जन गर्ने गरेको श्रोतको दाबी रहेको छ ।
सशस्त्र प्रहरीका उपरिक्षक विदुर खड्काको विश्वासपात्र बनी उनकै पालामा तस्करी गराउन पल्केका घुमुवा झा र पण्डितले कसैको डर नमानी निर्धक्क साथ तस्करलाई सघाएको हेरेर विदुर खड्काको सरुवा पश्चात हाल रौतहटको कार्यभार सम्हालेका सशस्त्र प्रहरी उपरीक्षक मदनसिंह विष्टमाथि समेत प्रश्न चिन्ह खडा भएको छ ।
विभिन्न ग्रामिण भेगका स्थानीय तस्करको सहयोगी बनी रातको समयमा दैनिक करीब पाँच लाख बराबरको लत्ता कपडा, पटाखा, ईन्धन लगायतका सामग्री भारतबाट नेपाल भित्रियाउने गरेको र सो बराबर दैनिक अबैध रुपमा ५० हजार रुपैयासम्म कमिशन लिई भाग बन्डा गर्ने गरेका छन् ।
दशै तिहार र छठ जस्ता पर्व नजिकिदै गरेको अवस्थामा उनीहरुले पटाखा तस्करीलाई प्राथमिकता साथ बढावा दिएको एक व्यापारीले बताएका छन् ।
घुमुवा प्रहरीको सहयोगमा स्थानीय तस्करले रातिको करीब १२ बजे देखि ३ बजेको समयमा बंकुल, राजपुर फरहदवा, टिकुलिया, महादेवपट्टी र लक्ष्मीपुर बेलविछवा नाकाहरुबाट मोटर साईकल तथा टेम्पुको प्रयोग गरी तस्करीलाई निरन्तरता दिएको सो क्षेत्रका स्थानिय बासिन्दाले आरोप लगाएका छन् ।



