
हुलाकी न्यूज, काठमाडौंः स्वतन्त्र मधेश गठबन्धनका नेता रामनोहर यादवको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा गठबन्धन र सरकारी पक्षबीच वार्ताको वातावरण बनाउने प्रयास भएको थियो।
सरकारी पक्षले वार्ताको माध्यमबाट समस्याको समाधान गर्ने बताएपछि सहिद यादवको लास उठाइ अन्तिम शंस्कार गरिएको गठबन्धनका प्रवक्ता अब्दुल खान बताउँछन्।
‘सरकारी पक्षले वार्ताको माध्यमबाट समस्या समाधान गर्ने प्रस्ताव गरेको थियो। त्यसलाई आधार मानेर हामीले स्व.राममनोहरको अन्तिम संस्कार गर्यौं। तर सरकारी पक्षले धोका दियो।’ प्रवक्ता खानले हुलाकी न्यूजलाई भने,‘सरकारी पक्षबाटै वार्ताको वातावरण भंग गरिएको छ। अव हामी पुनः अदालती प्रक्रियाबाटै जाने तयारी गर्दैछौं।’
स्व.यादवको श्रद्धाञ्जली सभामा गएकाहरुलाई सरकारले पक्राउ गरी आफैले बनाएको वार्ताको वातारण भंग गरेको खानको भनाई छ। प्रवक्ता खानले आफूहरु शान्तिपूर्ण रुपमा स्वतन्त्र मधेशको माग उठाउँदै आएको र सरकारी पक्षबाट बारम्बार दमन भएको बताउँदै भने,‘राममनोहरको घटनादेखि अन्य समस्यामा पनि हामीले शान्तिपूर्ण मार्ग वार्ता र छलफलबाट समाधानका उपाय खोजेका थियौं। तर सरकारले हाम्रा कार्यकर्ताहरुलाई पक्राउ गरी यातना दिन थालेका छन्। त्यसकारण यो वार्ताको प्रक्रिया भंग गरिएको जस्तो छ।’
सरकारी पक्षले छलफलको माध्यमबाट स्व.राममनोहर यादवको परिवारले उठाएको माग सम्बोधन हुने प्रतिवद्धता व्यक्त गरेपछि उनको दाहासंस्कार सोमबार गरिएको थियो। स्व.यादवको श्रद्धाञ्जली सभामा पुगेका मध्ये दुई दर्जनलाई प्रहरीले पक्राउ गरेको थियो। जसमध्ये दश जनामाथि राज्य विप्लवको मुद्दा दायर गर्ने तयारी प्रहरीको छ।



