हुलाकी न्यूज, काठमाडौंः स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई पूर्पक्षका लागि काठमाडौंस्थित सेन्ट्रल जेलमा राखिएको छ।
डा.राउतको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पुस १८ गते रौतहट जेलबाट काठमाण्डौ ल्याइएको थियो। उपचार पछि डा.राउतलाई रौतहट नै फिर्ता पठाउनु पर्ने थियो। तर, सरकारको दबाबमा कारागार व्यवस्था विभागले डा.राउतलाई सेन्ट्रल जेल मै राखेको डा.राउतका परिवारजनको भनाई छ।
सेन्ट्रल जेलको अवस्था निकै दयनिय छ। देशका अन्य जेलहरुको तुलनामा सेन्ट्रल जेल मै बढी कैदीबन्दीको मृत्यु हुने गरेको छ।
सरकारी मुखपत्र राष्ट्रिय समाचार समिति (रासस) का अनुसार यस आर्थिक वर्षमा सेन्ट्रल जेलमा १३ जनाको मृत्यु भएको छ। सेन्ट्रल जेल देशकै सबभन्दा ठूलो कारागार हो भने अहिले त्यहाँ २ हजार ८ सय कैदीबन्दी राखिएको राससले जनाएको छ।
सम्बन्धीत समाचार पढ्न यहाँ क्लिक गर्नुस् केन्द्रीय कारागारमा १३ कैदीबन्दीको मृत्यु
जेलको अवस्था निकै संबेदनशिल भएकोले डा.राउतलाई रौतहट नै फिर्ता पठाउन बारम्बार आग्रह गरिएको डा.राउतका दाई जयकान्त राउत बताउँछन्।
‘डा.साहाबलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। उपचार सकिएपछि फिर्ता पठाउन माग गर्दै आएका छौं। तर कारागार व्यवस्था विभागले डा.राउतलाई मधेशतिर पठाउन नमिल्ने प्रतिक्रिया दिदै आएको छ।’ हुलाकी न्यूजसँग जयकान्त राउतले भने,‘कारागार विभागले सिन्धुली जेल अथवा भिमफेदी जेलमा मात्र पठाउन मिल्ने गृहमन्त्रालयको आदेश रहेको प्रतिक्रिया दिदै आएको छ। मधेशका जिल्लामा गएको खण्डमा डा.राउतले मधेशीहरुसँग भेट् पाउने डरले सरकारले पहाडमै राख्न खोजेको छ। तर मधेशका मान्छेलाई पहाडको हावापानीमा राखिदा स्वास्थ्यमा समस्या आउने गरेकोले हामी मधेशकै जिल्लामा सार्न आग्रह गर्दै आएका छौं।’
कारागार व्यवस्था विभागलाई बारम्बार आग्रह गरिए पनि डा.राउतलाई मधेश तिर सार्न आनाकानी गरेको उनी बताउँछन्।
उनका अनुसार सेन्ट्रेल जेलमा डा.राउतको स्वास्थ्यमा बारम्बार समस्या आइरहेको छ।
यसैबीच विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संगठनहरुले डा.राउतको रिहाइको माग गरेका छन्।
बार ह्युमन राइटस् कमिटी अफ इंगल्याण्ड एण्ड वालसेले डा.राउतलाई रिहाईका लागि आग्रह गरेको छ। डा.राउतको मानव अधिकारमाथि हनन् भएको भन्दै उसले प्रतिवादसमेत गरेको छ।
विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुस् “Disappointment” and “Dismayed,” says BHRC, at Nepal’s continued prosecution of Madhesi activist, Dr Chandra Kant Raut
यसैगरी एशियन ह्युमन राइटस्ले पनि डा.राउतको उपचारमा समस्या हुन नदिन र उनको मानव अधिकार हनन् नगर्न आग्रह गरेको छ।




