
रासस, लहान : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन्।
मधेश आन्दोलनका क्रममा शहीद भएकाको सम्झनामा लहानमा शनिबार २ नं प्रदेश सरकारद्वारा आयोजित १२ औँ बलिदानी दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारले मधेशीको हकअधिकार र पहिचानका लागि संविधान संशोधन नगरे सरकारबाट बाहिरिनसमेत तयार रहेको दाबी गरे।
मधेशी, दलित, मुस्लिम, जनजाति लगायतमाथि अझै विभेद कायम रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले सरकारले संविधान संशोधन गर्न तयार नभए संघर्षका लागि तयार रहनसमेत मधेशी समुदायसँग अपिल गरे।
मुलुकको प्रमुख शत्रु गरीबी, बेरोजगारी र अशिक्षा रहेकाले त्यसको अन्त्यका लागि सरकार प्रतिबद्ध बताउँदै उहाँले गरीबी, बेरोजगारी र अशिक्षा अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएकाले यसलाई अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ अघि बढेको बताए।
सरकारका तर्फबाट मधेशमा शिक्षा, स्वास्थ्यलगायतको विकासका लागि योजना अघि सारिसकेको समेत उहाँले स्पष्ट पारे। शहीदको बलिदानीबाट प्राप्त भएको सङ्घीयतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै उहाँले संघीयता विरोधी गतिविधि र षडयन्त्रप्रति जागरुप हुनुपर्ने जिकिर गरे।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कटौती गरेर सङ्घीयता विफल पार्ने षडयन्त्र भइरहेको आरोप लगाए।
प्रदेशभित्रका बेरोजगारी युवालाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले शुरु गरिसकेको उल्लेख गर्दै उनले शहीदको सपनालाई प्रदेश सरकारले तुहिन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे। लहानस्थित पशुपति आदर्श माविको खेलमैदानमा आयोजित कार्यक्रममा प्रदेश २ सरकारका भौतिक योजनामन्त्री जितेन्द्र सोनल, वनमन्त्री रामनरेश राय, भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह, अर्थमन्त्री विजय यादव लगायतले श्रद्धाञ्जली व्यक्ति गरेका थिए।
सो अवसरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव, मुख्यमन्त्री राउतले मधेश आन्दोलनका क्रममा शहीद भएका ४६ जना शहीद परिवारलाई रोजगारीको नियुक्तिको डेमो प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरे।
त्यस्तै विभिन्न मधेश आन्दोलनका क्रममा घाइते भएका प्रदेश २ भित्रका ९७ जनालाई कार्यक्रममा राहतस्वरुप आर्थिक सहयोगसमेत प्रदान गरियो।



