कमल चौधरी

थारु जातिको महान् पर्व माघी

थारु जातिको आफ्नो पहिचान बोकेको महान् पर्व माघीलाई स्थान विशेष अनुसार माघ, माघी, माघे संक्रान्ति, माघी देवानी, खिचरा भन्ने प्रचलन रहेको पाईन्छ । माघी पर्व थारुहरूको सबैभन्दा ठूलो पर्व रहेकोले यसलाई परापूर्वकाल देखि नै धुमधामका साथ मनाउँदै आइरहेका छन् । आ–आफ्नो ठाउँ अनुसार यसलाई, नयाँ वर्षको रूपमा, उन्मुक्ति दिवसको रूपमा, सद्भाव र मेलमिलापको रूपमा, स्वतन्त्रताको रुपमा तथा आफ्ना दिदी बहिनीहरूलाई कोशेली स्वरूप निस्राउ प्रदान गर्ने आदि विविध रूपमा मनाउने चलन रहेको छ । यस पर्वमा मघौटा गीत गाउँदै झुमरा, झर्रा लगायत विभिन्न नाचहरू नाच्ने गरिन्छ । थारु समुदायले माघलाई नयाँ वर्षको रूपमा लिने गरिन्छ ।

अस्तित्व र पहिचानको पर्व माघी

सोझा, इमान्दार, सांस्कृतिक रुपमा विशिष्ट पहिचान भएका थारु समुदायको माघी पर्वको छुट्टै अस्तित्व र पहिचान रहेको छ । मानव सभ्यताको सुरुवाती संगै विभिन्न किसिमले थारु समुदायको समाजिक तथा संस्कृतिक पर्वहरुको अस्तित्वमा आएको पाईन्छ । हुन त वि.स. २०५९ सालमा सरकारले माघीको अवसरमा थारु कर्मचारीलाई बिदा दिने निर्णय सँगै थारु समुदायको माघी पर्वको व्यापक रुपमा प्रचार–प्रसार भएको देखिन्छ । त्यही बर्ष देखि नै काठमाडौंमा महोत्सवको सुरुवाट र पछि केन्द्र, जिल्ला, क्षेत्र गाउँ–गाउँमा माघी महोत्वस मनाउँन लागेको थारु अगुवाहरु बताउँछन् । वर्तमान समयमा केन्द्र, प्रदेश, जिल्ला, नगर, वडा स्तरका माघी महोत्सवहरु हुन थालेको पाईन्छ ।

मेलमिलापको पर्व माघी

मेलमिलाप एवम् भातृत्वको पर्व हो माघी । माघीमा आफूभन्दा ठूलालाई ढोगभेट गरेर माघीका लागि बनाइएका परिकार खाने प्रचलन रहिआएको छ । थारु जातिले माघी पर्वलाई मेलमिलाप पर्वको रुपमा लिने गर्दछन् । झैँ–झगडा वा विवाद भएर बोलचाल बन्द भएकाहरु समेत माघी पर्वमा एकआपसमा साइनो अनुसार ढोगभेट गरेर एकैसाथ बसेर एक अर्काे घरमा पाकेका परिकार खाएर रमाईलो गर्ने प्रचलन रहेको छ । त्यसैले माघी समाजिक सद्भाव र खुसीयालीको पर्वको रुपमा लिने गरिन्छ ।

नयाँ बर्षको रुपमा माघी

थारुहरूले माघ १ गतेदेखि नयाँ वर्ष थालनी भएको मान्दछन् । त्यसैले पुस मसान्तमा गत सालको सबै कारोबारको अन्त्य र माघ १ गतेदेखि नयाँ करोबारको थालनी गर्ने चलन रहेको छ । त्यसैगरी सामूहिक कामकाजको सम्बन्धमा छलफल गरी छिनोफानो लगाइन्छ । गाउँभरीका व्यक्तिहरू भेला भइ गाउँको नेतृत्वकर्ता वरघर (भलभन्सा÷महँताँवा) चयन गरिन्छ । त्यसपश्चात् चौकीदार, गुरुवा, केसौका, छनौट पनि गर्ने गरिन्छ ।

माघी पर्वको सुरुवात

माघी पुस महिनाको अन्तिम दिनदेखि सुरु हुन्छ । गाउँ घरमा माघ महिना सुरु भएदेखि नै थारु गाउँबस्तीमा चहलपहल हुनुको साथै “सखी हो माघी मे गुरी गुरी जाँड…. ” जस्त गीतहरु गुञ्जिन सुरु हुँन्छन् । विशेषगरी माघ १ गतेको दिन जब बिहान भाले बासे संगै साना ठूला सबै नदीमा नुहाउन जाने गरिन्छ । कसैको कोखबाट सन्तानको जन्म नहुने वा जन्मेपछि मरीहाल्ने गरेको छ भने त्यस्ता जोडीहरू कुनै तीर्थस्थल वा दोभानमा गएर नुहाउने र सन्तानको बरदान माग्ने धर्मिक अस्था पनि रहिआएको छ । नदीमा नुहाउन गाउँभरीका केटाकेटी, युवा तथा बृद्ध सबै संगै जाने र नुहाई सकेपछि तिलको आगो ताप्ने गरिन्छ । नुहाइ घरमा फर्केपछि सबैजना चामलको टिका लगाउने गरिन्छ र “निश्राउ” निकालिन्छ । चामल छुदा सुपामा चामल, नुन, उरुदको दाल राखिएको हुन्छ यिनै चामल, नुनलाई अर्को छुटै भाँडाहरूमा पाँच–पाँच अञ्जुली झिकेर राखिन्छ यसै प्रक्रियालाई “निश्राउ” भनिन्छ । यो निश्राउ जति झिकेर राखेको छ त्यसैमा केही थापेर दिदीबहिनीलाई “निश्राउ” दिन जाने गरिन्छ ।

कपिलबस्तुको बाणगंगामा माघी

कपिलस्तु जिल्लाको बाणगंगा नगरपालिकाको वि.स. २०६८ को तथ्यांक हेर्ने हो भने कुल ७५ हजार २ सय ४२ जनसंख्या रहेको छ । यस नगरपालिकमा २८ हजार १२ जनसंख्या थारु समुदायको मात्रै रहेको छ । यो कुल जनसंख्याको ३७.२२ प्रतिशत हो । यहाँ १३ हजार ५ सय ७० थारु पुरुष र १४ हजार ४ सय २१ थारु महिला बसोबास गर्ने गर्दछन् । ११ वटा वडामा विभाजन भएको यस नगरपालिकामा थारु जातिको उच्च बाहुल्यता रहेको छ । यस बर्ष माघी अवसरमा कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ९ मा थारु समुदाय र मगर समुदायको संयुक्ता अयोजनामा पुस २८ गते जिनुवामा सम्पन्न भयो । त्यस्तै पुुस ३० गते बाणगंगा–८ उदयपुर मोर्मी स्कुलमा वडा स्तरीय दोस्रो माघी महोत्सव हुदै छ । त्यसैगरी वाणगंगा नगरपालिका वडा–७ मोतिपुरमा माघ १ गते माघी महोत्सव हुने भएको छ । त्यसैगरी पुस २८, २९ र ३० गते महाविरात्री मेला स्थल हथौंसमा बाणगंगा नगरस्तरिय प्रथम माघी महोत्सव सुरु भएको छ ।

यसरी वाणगंगा नगरपालिकामा थारु समुदायको भाषा, धर्म संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न किसिमका माघी महोत्सवको तयारीले अहिले गाउँघर गुञ्जमान भएको छ । बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुले नेपाल बहुल जाति, बहुल भाषिक विविधता भएकोले हामीले सबै जाति समुदायको भाषा संस्कृतिको सम्मन र संरक्षण गर्नुपर्ने बताउँनुभयो । त्यस्तै बाणगंगा वडा नं. ८ वडा अध्यक्ष गुणनीधि भुषालले प्रत्येक बर्ष थारु समुदायको भाषा धर्म संस्कृतिको संरक्षण गर्न माघीमा एक लाख वडाले बजेट छुट्याउँदै आईरहेको जनकारी दिनुभयो । थारु कल्यणकारिणी सभाका जिल्ला सदस्य संक्रान्ती चौधरीले थारु भाषा संस्कृति संरक्षण गर्ने उद्देश्यले नै वडा, नगर र जिल्ला स्तरमा माघी महोत्सव कपिलबस्तु जिल्लामा गर्ने गरेको बताउँनुभयो । उहाँले यस बर्ष जिल्ला स्तरिय माघी महोत्सव शिवराज नगरपालिका ५ चन्द्रौटा प्रदर्शनी स्थल कपिलबस्तुमा माघ २, ३ र ४ गते हुने जनकारी दिनुभयो ।

वर्तमान समयमा माघी पर्व मनाउने शैलीमा परिवर्तन आएको छ । पहिले थारु बहुल्य भएको गाउँ ठाउँमा सिमित हुने माघी वडा, नगर, जिल्ला र राष्ट्रिय स्तरमा आजभोली मनाउन थालिएको छ । अधुनिक समाजको विकास र प्रचर–प्रसार संगै आज ठाउँ– ठाउँमा महोत्सव गरी मनाउने संस्कृतिको विकास हुँदै गएको छ । यसलाई अझ भव्य र व्यापक रूपमा मनाउनका लागि अगुवा, बुद्धिजिवी, थारु युवायुवाती लागि परेका छन् । यस माघी पर्वलाई केवल थारु जातिमा मात्र सीमित नराखी अब अन्य जातिसँग सहकार्य गरी व्यापक रूपमा मनाउन जरुरी छ । यस्ता चार्डपर्वहरू थारुमा मात्र सीमित राख्नु निश्चय पनि सान्दर्भिक र न्यायपूर्ण हुन सक्दैन । हुन त प्रदेश नं. ५ सरकारले पहिलो पटक यस बर्ष माघी पर्वकोे अवसरमा माघ १ र माघ २ गतेलाई दुई दिन सर्वजानिक विदा दिएको छ । पक्कै पनि थारु समुदायको महान पर्व माघी पर्वलाई संरक्षण र प्रर्वद्धनका लागि प्रदेश सरकारबाट दिएको सर्वजानिक विदा स्वागत्योग्य छ । तर यति मात्रले थारु संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन सक्दैन थारु भाषा संस्कृतिको संरक्षण र प्रवद्धन गर्नको लागि सरकारी तहबाट स्पस्ट नीति हुनु जरुरी देखिन्छ । ताकी लोप हुने संघरमा पुगेको भाषा, धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन हुन ठुलो मद्दत पुग्ने छ । -थारुवानबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.