
हुलाकी न्यूज, काठमाडौं: मधेशी युवाहरुले योजना छनोटका लागि नयाँ अभ्यास थालेका छन्। विभिन्न विधामा उत्कृष्ट योजनाहरु छनोट गरी आर्थिक सहयोग र प्रोत्साहनका लागि युवाहरुको समूहले कार्यक्रम थालेका हुन्।
उक्त विषयमा ‘मधेशी युथ कनेक्टस्’का यूवाहरुले काठमाडौंमा ‘स्टार्टअप पीचीङ्ग प्रतियोगिता तथा प्रविधि प्रदर्शन कार्यक्रम’ सम्पन्न गरेका छन्। शनिबार थापाथली ईन्जिनियरिङ्ग कलेजमा आयोजित कार्यक्रममा विभिन्न विद्याका १४ समूहले सहभागिता जनाएका थिए।
सार्वजनिक भोटिङ्ग प्रणाली तथा निर्णायक मण्डलको छनौटमा उत्कृष्ट प्रस्तुति, उत्कृष्ट ‘पीच’ र उत्कृष्ट योजना छानिएको थियो।
उत्कृष्ट प्रस्तुति ‘अप्पन प्याड’ समूहकी श्रीनु झाले पाइन्। महिलाहरुको महिनाबारीका विषयमा सचेताना फैलाउने र प्याड निर्माणको अभियानमा झा संलग्न छिन्।
यसैगरी, उत्कृष्ट योजना (आइडिया) ‘ब्लाईन्ड आई‘ समूहका जयकृष्ण पन्जियार र उत्कृष्ठ पीच वायु प्रदुषण मापक यन्त्र बनाएका आयुस दत्तले पाए।
विभिन्न प्रदेशबाट छानिएका योजनाहरुलाई समेटेर राष्ट्रिय प्रतियोगिता गराउने र राम्रो योजनाहरुको लागि आवश्यक आर्थिक सहयोग जुटाई दिगो रुपमा सञ्चालन गर्न कार्यक्रमको आयोजना गरिएको ‘मधेशी युथ कनेक्टस्’का यूवाहरुले जनाए ।
प्रतियोगिताबाट उत्कृष्ट समूहलाई सशक्तिकरण गर्दै थप सहयोग जुटाई स्थानीय तहमा उद्यमशीलता बढाउने लक्ष्यसहित कार्यक्रम गरिएको हो।



