
माया केसी, बुटवल: समय सधै एकैनाश हुँदैन। कतिबेला कसरी समयले कहाँबाट कहाँ पु¥याउछ भन्ने सायद कसैलाई थाहा हुँदैन। यो भनाई हो पत्रकार सोना खटिकको।
कालो वर्ण, पातलो शरिर, हिस्सी परेकी सोनाले कपिलबस्तुमा लामो समयदेखि पत्रकारिता गरिरहेकी छिन्। कपिलबस्तुको बुद्धभुमि नगरपालिका ९ मा वुवा रामलखन खटिक र आमा सुमित्रा खटिकको कान्छी छोरीको रुपमा जन्मिएकी खटिक खरो स्वाभावकी छिन्।
समाजमा हुुने गरेका अन्यायले सानैबाट मन पोल्थ्यो उनको। खटिकको त्यहि पोलाईले नै उनलाई पत्रकारितामा डो¥यायो।
मधेशी समुदाय, त्यसमाथि पनि दलित परिवार। समय आजको जस्तो थिएन। आर्थिक अवस्था अत्यन्त कमजोर। त्यसले पनि परिवारमा समस्या थपेको थियो। जसोतसो वुवा आमाले मजदुरी गरेर चार छोराछोरीलाई पालेका थिए।
खटिक भन्छिन् ‘विगत सम्झदा अत्यन्त पिडा महसुस हुन्छ। वुवाले गाँउका धनी माहजनहरुका गाईवस्तु चराउने काम लामो समयसम्म गर्नुभयो। तर पनि आफना छोरा छोरीलाई पढाउनु पर्छ भन्ने अठोट थियो। धेरै बाधाहरु आए तर पनि वुवा हामीलाई पढाउन पछि हट्नु भएन । त्यसैको फल हो आज म यो स्थानमा छु।’
‘भर्खरै कक्षाको १२ परीक्षा सकेर बसेकी थिएँ, यो कुरा २०६५ सालको हो। कपिलबस्तुमा रेडियो कपिलबस्तुले आफ्नो स्थापनाकालमै पत्रकारिता तालिमको आयोजना गरेको थियो। त्यसबेला मेरो साथी सरिता थारुले मलाई यो खबर दिइन। उनैको साथमा म पनि तालिममा सहभागी हुने सोच बनाए तर पैसा थिएन। २ हजार रुपैयाँ बुझाउनु पर्ने थियो। त्यसबेला मलाई सरिताको दाईले दुई हजार रुपियाँ दिनुभयो। त्यो पैसा नै मेरो जीवनलाई यहाँ पु¥याउने महत्वपुर्ण पैसा थियो।’ उनी भन्छिन् ‘यदि दाईले सहयोग नगर्नु भएको भए साहेद म कहाँ हुनेथिए थाहा छैन। मेरा वुवा आमाले हाम्रा लागि धेरै ठूलो संघर्ष गर्नु भयो। अरु घरमा काम गरेर जिवोकोपार्जन गर्नुको विकल्प थिएन। मैले पढ्दा छोरीलाई पढाएर के गर्न खोजेको भन्नेहरु पनि प्रसस्तै थिए।’
‘मैले छोरीले पनि गर्न सक्छन् भन्ने सन्देश अहिले मेरो परिवार आफन्त र मेरो बस्तीमा दिन सकेकी छु। यसले मलाई आत्म सन्तुष्टि मिलेको छ।’ खटिकले भनिन्,‘त्यसबेला हामी गरिबका छोरा छोरी विद्यालय जाँदा साहुहरुले वुवा आमालाई ‘तेरा छोराछोरी स्कुल गएपछि कसले चराउँछ हाम्रा बस्तुभाउ ? कसले गर्छ हाम्रा काम ?’ यस्ता धम्कीहरु धेरै पटक सहे। त्यसबेला मेरा वुवाआमाको पनि बालबिबाह भएको हो। वुवाले साहुका बस्तुभाउ चराउने देखि चौकीदारी गर्नुहुन्थ्यो। त्यसबापत वुवालाई प्रत्येक घरले वर्षको चार किलो चामल र एक मुठा धान दिने गरेका थिए। आमाले चार जना साहुको घरमा काम गर्नुहुथ्यो।’
खटिक मधेशी समुदाय त्यसमाथि दलित भनेर आफुहरुले समाजमा धेरै अन्याय सहनु परेको बताउँछिन्। उनी भन्छिन् ‘हाम्रो जनसंख्या करिव पाँच सय हाराहारी छ। खटिक जात बाँके, कपिलवस्तु र रूपन्देहीमा अलि बढी भेटिने गरेको छ।’
उनी भन्छिन् ‘हाम्रो समुदायमा रेडियोमा बोल्ने पहिलो खटिक हुँ जस्तो लाग्छ।’ उनी पत्रकारिता गर्दे अहिले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दैछिन। उनले बरकलपुरस्थित जनकल्याण माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी हुन्।
त्यसबेला विद्यालय जानु पढ्नु उनका लागि ठुलो युद्ध जिते जस्तो हुन्थियो । विद्यालयमा पनि दलित समुदायको भनेर गर्ने व्यवहार पनि फरक थियो त्यसबेला।
उनि विगत सम्झदै भनिन् ‘त्यसबेला शिक्षकले पिट्दा म बिहोससम्म भए तर पनि पढ्नमा हारिनँ।’
‘कक्षा १० पुग्दासम्म नयाँ लुगा लगाएको सम्झना छैन। त्यो हाम्रो परिवारको बाध्यता थियो। त्यसलगतै मैले म भन्दा सानो कक्षामा पढ्नेहरुलाई ट्यूसन पढन शुरु गरे। केहि समय पछि मलाई गाँउलेहरुले एक महिनाको २ सय ५० रुपिया दिन थाले ट्यूसन पढाए बापत। त्यो मेरो जीवनको पहिलो कमाई थियो। त्यसपछि बल्ल नयाँ कपडा लगाएको हो मैले।’ उनले सुनाइन्।
‘रेडियो कपिलबस्तुमा दुई महिना स्वयंसेवा गरेपछि मासिक दुई हजार रुपैयाँ पाउने पाएको हु मैले। यो कुरा हो २०६६ सालको। मैले त्यसबेला थारू र अवधीमा समाचार पढ्न शुरु गरेकी थिए। त्यसै गरी रेडियोको व्यवस्थापन पनि हेर्न गर्दथे। अहिले म यो रेडियोको स्टेशन प्रमुखको रुपमा कार्यरत छु। समाचार पढ्न थालेको सात वर्षपछि रेडियो स्टेसन प्रमुख भएकी हुँ। पढाई र काम दुबै मेरा लागि महत्वपुर्ण छन्। त्योसँगै बालविवाह अन्त्यका लागि म लागि परेकी छु। मेरो दिदीको बालविवाह भएको हो। हामी गरिव दाईजो दिन सकेनौ। दिदी पनि बालविवाहको मारमा पर्नु भएको छ। त्यसैले गाँउमा बालविवाह बिरुद्ध मेरो आवाज सधै उठ्ने गर्दछ।’ उनले भनिन्।
साभार :http://newsbutwaltoday.com/news/2231



