
हुलाकी न्यूज, काठमाडौं : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको जीवन रक्षाको माग गरिएको छ।
सरकारले उपचारको नाममा जेलभित्र यातना दिएको भन्दै डा.राउतका दाजु जयकान्त राउतले जीवन रक्षाको माग गरेका छन्।
लामो समयदेखि विरामी रहँदै आएका डा.राउतलाई उपचारका लागि रौतहट जेलबाट काठमाडौंको सेन्ट्रल जेल सुन्धारा ल्याइएको छ। तर डा.राउतको उपचार नगरी जेलभित्र यातना दिइएको आरोप जयकान्त राउतले लगाएका छन्।
सेन्ट्रल जेलमा ल्याइएको तेस्रो दिन हुँदासमेत डा.राउतलाई आवश्यक औषधी र सुत्ने व्यवस्था गरिएको छैन।
यातनाका लागि डा.राउतलाई जेलभित्र दौडाएर परिक्रममा गराउने काम भइरहेको गठबन्धनका नेता जाशर यादवले हुलाकी न्यूजलाई जानकारी दिएका छन्।
डा.राउतका दाजु जयकान्त राउतले हुलाकी न्यूजसँग भने,‘जेलभित्र यातना दिएर सीकेको हत्याको षड्यन्त्र हुँदैछ। राममनोहर यादवकै शैलीमा । सीकेलाई तत्कालै उपचारका लागि अस्पताल भर्ना गर्नु आवश्यक छ। मानव अधिकारवादी, अधिकारकर्मी र पत्रकारहरुलाई सीकेको जीवन रक्षाका लागि पहल गरिदिन अनुरोध गर्दछु।’
शुक्रबार डा.राउतलाई हत्कडी मै काठमाडौंको महाराजगंजस्थित टिचिङ्ग हस्पिटल लगिएको थियो। डाक्टरहरुले अस्पतालमा भर्ना गर्नु पर्ने सुझाव दिएपनि प्रहरीले पुनः जेल मै ल्याएको नेता यादवले जानकारी दिए।




