
विराटनगर (रासस) : थारु समुदायको कला, साहित्य तथा जातीय पहिचानका लागि विराटनगरमा माघी महोत्सव–२०७५ को आयोजना हुने भएको छ। थारु कल्याणकारी सभा मोरङले माघी सङ्क्रान्तिको अवसर पारेर आगामी माघ ५ गते एकदिने महोत्सवको आयोजना गर्न लागिएको जनाएको छ।
महोत्सवका संयोजक गौरब तबदारले लोप हुँदै गएको थारु संस्कृतिलाई जोगाउन महोत्सवको आयोजना गरिने बताए। विराटनगर–४ स्थित कञ्चनबारीमा आयोजना गर्ने महोत्सवमा घोंघी, बगिया, तिलको लड्डु, मुरीको लड्डु, परेबा र हाँसको मासु, माछालगायतका थारु परिकारको कक्ष रहने पत्रकार सम्मेलनमा बताइएको छ।
महोत्सवमा थारु जातिको वेशभूषा र रहनसहन झल्किने गरी वृत्तचित्र प्रदर्शन गरिने सभाका अध्यक्ष प्रदीपभगत थारुले बताए। महोत्सवमा थारु जातिको लोप हुन लागेको आगो ताप्ने चुलो, वर्षी, धान राख्ने भकारी, मौडा, कोठीलगायत सामग्री प्रदर्शनीमा राखिने भएको छ।
थारु समुदायका देशभरि बेग्लै वेशभूषा र रहनसहन हुने गर्दछ। त्यही वेशभूषा र रहनसहनमा आधारित भएर तयार पारिएको वृत्तचित्र महोत्सवमा प्रस्तुत गरिने भएको छ। थारु जातिको वेषभूषा, पहिरन, गरगहना, लवाइखवाइ, मौलिक खाना र हस्तकलाको प्रदर्शनबाट प्रदेश १ का थारु जातिबीच अपनत्वभाव वृद्धि गर्न तथा सांस्कृतिक महत्व र आन्तरिक पर्यटनको वृद्धिका लागि महोत्सव गर्न लागिएको बताइएको छ। प्रदर्शनीमा सुनसरी, मोरङ र झापाका १० हजारभन्दा बढी थारु समुदायका व्यक्तिले अवलोकन गर्ने आयोजकले जनाएको छ।
केही वर्षदेखि नियमित रुपमा काठमाडौंमा माघी महोत्सव हुँदै आएको छ। यस वर्ष पनि काठमाडौंमा माघी महोत्वसको तयारी गरिएको छ।



