जनकपुरधाम : संघीय सरकारको श्रम तथा रोजगार मन्त्रालयले पुस १५ गतेदेखि सातवटै प्रदेश मातहतमै श्रम स्वीकृतिको सुविधा दिने तयारी थालेको छ । तर प्रदेश २ मा भने त्यसको तयारी देखिएको छैन।

मन्त्रालयले एक पटक विदेशबाट आएकाको हकमा सातै प्रदेश मातहतको श्रम कार्यालयबाटै पुनः श्रम स्वीकृति दिने निर्णय गरेको थियो। मन्त्रालयको निर्णयबमोजिम पुुस १५ देखि सेवा शुरु हुनुपर्नेमा प्रदेश–२ को श्रम कार्यालयमा तयारी देखिएको छैन।

मन्त्रालयले श्रम स्वीकृतिका लागि तय गरेको दरबन्दी बमोजिमका कर्मचारीसमेत कार्यालयमा आइपुगेका छैनन् । सेवा शुरु गर्न उपसचिवसहित कम्तीमा १४ कर्मचारी आवश्यक छ। श्रम कार्यालय जनकपुरमा एक जना कार्यालय सहयोगीसहित जम्मा तीन कर्मचारी कार्यरत छन्।

श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले समयमै सेवा शुरु गर्न आन्तरिक तयारी भइरहेको दाबी गरे । प्रवक्ता रेग्मीले जनशक्ति, प्रशिक्षण र प्रविधि जडानको गृहकार्य भइरहेको बताउँदै भने,‘पुस १५ देखि सेवा शुरु गर्न सकिने अवस्था हेरेर नै समय सीमा तोकिएको हो र सोही बमोजिम तयारी भइरहेको छ ।’

श्रम कार्यालय जनकपुरका प्रमुख मनोजकुमार यादवले श्रम स्वीकृतिको काम प्रविधिमार्फत हुने हुनाले प्रविधि जडानसँगै काम शुरु गर्न समय नलाग्ने बताए। उनले तोकिएको समयबाट नै सेवा शुरु हुने दाबी गरे। नायब सुब्बा रमेशकुमार दासले दुई जना शाखा अधिकृत आउने तरखरमा रहेको जनाए।

मन्त्रालयको २०७०/७१ को प्रतिवेदन बमोजिम प्रदेश २ बाट मात्रै वैदेशिक रोजगारमा गएका श्रमिकको संख्या पाँच लाख ८२ हजार २ सय ८१ छ। त्यसमध्ये धनुषाबाट मात्रै सबैभन्दा बढी एक लाख ३९ हजार ७१७ जना विदेशिएका छन्।
राससको सहयोगमा।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.