स्केच सञ्चारकर्मीको सहयोगमा

हुलाकी न्यूज, काठमाडौं : केन्द्र सरकारको ‘तराई–मधेश समृद्धि कार्यक्रम’मा अनियमितता भएको भन्दै मधेशका संघीय सांसदहरुले छानविनको माग गरेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यक्रमको योजना छनौटमा अनियमितता गरेको प्रदेश २ का संसदीय सांसदहरुले आरोप लगाउँदै छानविनको माग गरेका छन्।

विहीबार मधेशका सांसदहरुले सिंहदरबारमा बैठक गरी योजना छनौटमा अनियमितता भएको भन्दै विरोधसमेत जनाएका छन्।

मानव बिकास सूचांंकमा पछाडि परेका तराई–मधेशलाई समृद्धिसंग जोड्ने प्रधानमन्त्रीले कार्यक्रम ल्याएको तर उक्त कार्यक्रमको योजना केही व्यक्तिको निहित स्वार्थ पूरा गर्ने उद्देश्यबाट आएको उनीहरुको आरोप छ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष एवं संघीय सांसद प्रभु साहले योजना छनौटमा ‘तराई मधेश समद्धि कार्यक्रम संचालन कार्यबिधि २०७५’लाई वेवास्ता र उल्लघंन गरी कानुनी शासनको मजाक उडाइएको बताए।

‘स्थानीय तहको सह लगानीमा संचालन हुने यस कार्यक्रमका योजनाहरु स्थानीय तह वा आधारमा छनौट हुने कार्यबिधिको स्पस्ट व्यवस्था भए पनि माग्दै नमागेका योजनाहरु राखिएको र मागेका महत्वपूर्ण योजनाहरु हटाइएको दुःखद कुरा हो।’ नेता साहले भने।

आफैले बनाएको बिधि बिपरीत शक्ति र पैसाको बलमा आफ्नो र आफ्नो आसेपासेको योजनाहरु समावेश गरिएको नेपाली कांग्रेसका सांसद डा.अमरेश कुमार सिंहको भनाई छ।

बैठकमा सहभागी सांसदहरुले कुनै स्थानीय तहमा पुरै शून्य र कुनै स्थानीय तह वा क्षेत्रमा करोडौं रकम थुपारिएको टिप्पणी गरे। तराई–मधेश समृद्धि कार्यक्रममा नता र चलखेल रोक्न समग्र प्रकृयाको छानबिन गर्न जरुरी रहेको भन्दै सांसदहरुले छानविनको माग गरेका छन्।

कार्यक्रम सम्बन्धमा मन्त्रालयद्वारा भएका निर्णयहरुलाई तत्काल उच्च स्तरीय छानबिन गरी दोषीलाई कारबाही गर्न प्रधानमन्त्रीसँग माग पनि गरिएको छ।

अनियमितता र चलखेल तत्काल रोक्न र संघीय संसदको संलग्नतामा मात्र योजना छनौट गर्न अनुरोध गरिएको छ।
सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिने तयारी समेत गरेका छन्।

छलफलमा राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरु अनिल झा, प्रमोद साह, संघीय समाजवादी फोरम नेपालकी सांसद प्रमिला यादव सहभागी थिए।

यसैगरी नेपाली कांग्रेसका डा.अमरेश कुमार सिंह, तेजुलाल चौधरी सहभागी थिए। नेकपाका रामेश्वर राय यादवलगायत मधेशका दुई दर्जन जति सांसदहरुले सहमति जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.