
हुलाकी न्युज, काठमाडौँ: मधेशका विभिन्न जिल्लाहरूबाट अध्ययन र रोजगारीका लागि काठमाडौँ आएका युवाहरूको बिचमा चिया गफ हुन्छ। चिया गफकै क्रममा कुरा उठ्छ महिलाहरूको महिनावारी बारे।
‘मधेशका विद्यालयमा महिनावारी बारे चर्चा हुँदैन। स्वास्थ्य विषयमा महिनावारी वा यौन सम्बन्धी च्याप्टर आउँदा शिक्षक-शिक्षिकाले आफै पढेर आउन भन्छन्। त्यही भएर महिनावारीमा उचित सरसफाइ नहुँदा धेरैले समस्या भोग्नु परेको छ।’ युवाहरूको बिचमा यस्ता तर्क बितर्क हुन्छ।
‘मधेशका अधिकांश महिलामा आङ खस्ने समस्या छ। यसको एउटा कारण महिनावारीको समयमा उचित हेर बिचार नहुनु पनि हो। त्यसैले महिनावारीका समयमा हुने समस्या समाधानका लागि काम गर्नु पर्छ।’ लगायतका कुरा उनीहरूको बिचमा उठ्छ र सुरु हुन्छ ‘प्याड बैङ्क’ जागरण।
नेपालमा पनि पहाडका केही स्थान र पश्चिमी मधेस–थरुहटको कैलाली, मध्यमधेशको चितवनसहितका जिल्लाहरूमा पनि महिनावारीका बेला हुने गरेका समस्या साधनका लागि काम भइरहेको छ। केही महिला र युवा समूहले काम गर्दैछ। तर पूर्वीमधेशी र अन्य भागमा भने महिनावारी बारे जागरण खासै चलेको छैन।
त्यसैले ती युवाहरू निर्णयमा पुग्छन्, मधेशमा महिनावारीका बेला हुने गरेको समस्या समाधानका लागि जागरण गर्नु पर्छ।
जसको नेतृत्व गर्छिन् प्रोमिशा मिश्रा। र, जागरणको नाम दिइन्छ ‘महिनावारी स्वच्छता अभियान।’
अभियानसँग एकपछि अर्को गरी मधेसी युवतीहरू जोडिँदै जान्छिन्। आफ्नै पकेट खर्चबाट उनीहरू मधेशका विभिन्न जिल्लामा महिनावारीका बेला प्रयोग हुने प्याड बनाउने तालिम दिन्छन्। महिनावारीका बेला हुने समस्या बारे चर्चा गर्छिन् र समाधानका उपाय पनि सिकाइन्छ।
संयुक्त राष्ट्र सङ्घले पनि महिनावारीको विषयलाई जनस्वास्थ्यसँग जोडिएको अन्तर्राष्ट्रिय समस्याका रूपमा लिएको छ। छिमेकी मुलुक भारतमा पनि महिला तथा बालबालिका विकास मन्त्री मनेका गांधीले गत फेब्ररीमा ‘महिनावारी स्वच्छता अभियान’ सुरु गरेकी छिन्।
फरक विषय तर एउटै अभियान
‘महिनावारी स्वच्छता अभियान’को नेतृत्व गरिरहेकी प्रोमिशा महोत्तरी जिल्लाको पिगौनाकी छिन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणमा कमप्युटर इन्जिनियरको रूपमा कार्यरत छिन्।
उनलाई यस अभियानमा साथ दिएकी छिन् महोत्तरीकै प्रियंका ठाकुर। समाजशास्त्रमा एमए गरेकी प्रियंका यस अभियानमा सक्रिय रूपले लागेकी छिन्।
सप्तरी जिल्ला घर भएकी कानुन संकायमा बिएएलएलबी गरिरहेकी सीमा यादव पनि यस अभियानमा जोडिएकी छिन्।
सिराहाकी गुन्जा मण्डल इलेक्ट्रोनिक्स इन्जिनियरिङकी विद्यार्थी हुन्। उनले पनि महिनावारीका बेला अपनाउन पर्ने सावधानीका विषयमा जानकारी दिन्छिन्।
बीएससी एग्रीकल्चर पढ्ने महोत्तरी बनौलीकी स्मृति झा र श्रिणु झा पनि यस अभियानमा जोडिएकी छिन्।
सर्लाहीकी स्नेहा झा पनि यस अभियानमा साथ दिएकी छिन्।
यसअभियानमा अधिकांश युवाहरू फेबुकग्रुपको माध्यमले जोडिएका छन्।

मधेशमा सुनिएका भ्रमहरू
स्थानीय युवा क्लब र सामाजिक सञ्जालबाट सहयोग जुटाई यिनीहरूले कार्यक्रम गर्दै आएका छन्। कार्यक्रम स्थलसम्म जाने भाँडा र खर्च यिनीहरू आफ्नै गोजीबाट तिर्छन्।
महिनावारी स्वच्छता अभियानमा लागेका यी युवाहरूले महोत्तरी, धनुषा र सिराहालगायतका जिल्लाको विभिन्न स्थानमा कार्यक्रम गरेका छन्। यिनीहरूको अनुभव पनि रमाइला छन्।
संयोजक प्रोमिशा अभियानका क्रममा सुनेका केही भ्रमहरूका बारे यसरी बताउँछिन्,‘हामीले प्याड बनाउन तालिम दिन जाँदा कयौँ भ्रमहरु सुन्यौँ। महिनावारीका बेला मन्दिर नजाने कुरा त सबै ठाउँमा सुनिन्छ। महिनावारीका बेला अचार छुनु हुँदैन भन्ने कुरा पनि सुन्यौँ। यती मात्रै हो र, महिनावारी भएको बेला अल्ता (नेल पोलिस) पनि लगाउनु हुँदैन रे भनेर सुन्यौँ।’

प्रोमिशाका अनुसार यस अभियान अन्तरगत सुरुमा महिनावारीको प्रक्रिया बारे जानकारी दिइन्छ। त्यसपछि महिनावारीका विषयमा रहेका भ्रमहरू चिर्ने प्रयास गरिन्छ। सरसफाइ तथा महिनावारीका बेला के गर्ने, के नगर्ने विषयमा पनि जानकारी दिइन्छ। र, अन्त्यमा प्याडको प्रयोग र पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन सिकाइन्छ।
आ–आफ्नो क्षेत्रमा यस किसिमको अभियान चलाउन चाहनेहरूले यस समूहलाई जानकारी गराएको खण्डमा यो समूह पुग्ने गरेको प्रोमिशा बताउँछिन्।
प्रोमिशालाई नेतृत्वको चाहना
महिनावारी स्वच्छता अभियानको संयोजन गरिरहेकी प्रोमिशा कुशल नेतृ पनि हुन्। नेपाल तराई विद्यार्थी नव जागरण संघकी पूर्व उपाध्यक्ष पनि हुन् उनी।
समाजशास्त्रमा स्नातकोत्तर पनि गरेकी प्रोमिशा भूकम्पका बेला पुनर्निर्माणका लागि पनि काम गरेकी छिन्।
विभिन्न सामाजिक अभियानसँग पनि जोडिएकी उनी हाल हुन गइरहेको नेपाल इन्जिनियर एशोसिएशनको चुनावमा उम्मेदवार पनि छिन्। प्रदेश २ को कार्यसमिति सदस्यको उम्मेदवार उनी मधेसी महिलाहरूलाई इन्जिनियरिङ क्षेत्रमा प्रोत्साहन गर्ने चाहना राख्छिन्।
उनी अहिले आफ्नो चुनाव प्रचारमा लागेकी छिन्।




