
हुलाकी न्यूज, काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको प्रयास सुरु भएको छ।
गत चुनावमा मधेश गठबन्धन बनाएको दुबै दलले पार्टी एकीकरण गर्ने प्रतिवद्धता जनतासामु गरेका थिए। तर त्यस विषयमा खासै उपलब्धी हुन सकेको छैन।
राजपाले पार्टी एकीकरणका लागि औपचारिक प्रस्ताव गरेपनि फोरमको तर्फबाट कुनै छलफल भएको थिएन।
अव फोरमको केन्द्रीय समिति बैठकले पनि पार्टी एकीकरणका लागि वार्ता समिति गठन गरेको छ। उक्त समितिले औपचारिक रुपमा राजपासँग एकीकरणका लागि प्रयास गर्नेछ।
फोरम नेपालका कोषाध्यक्ष एवं प्रदेश २ का अर्थमन्त्री विजय यादवले हुलाकी न्यूजलाई भने,‘वार्ता समिति गठन पछि एकीकरणका लागि छलफल हुनेछ। यो औपचारिक प्रयास हुनेछ। दुबै दलले लचकता देखाए एकीकरण हुने सम्भावना बलियो छ।’
फोरम नेपालको तर्फबाट एकीकरणका लागि औपचारिक रुपमा प्रयास थालिएपछि राजपाका नेताहरु पनि सक्रिय भएका छन्। उनीहरुले पनि एकीकरणको प्रयासलाई सकारात्मक रुपमा लिएका छन्।
संघीय संसदमा राजपा नेपाल तेस्रो ठूलो दल हो भने फोरम चौथो। प्रदेश २ मा फोरम र राजपाले संयुक्त सरकार गठन गरेको छ।



