
हुलाकी न्यूज, रौतहट (गौर) : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतसहित पाँच जनालाई असोज २१ गते रौतहटबाट पक्राउ गरिएको थियो।
जिल्ला अदालतमा राज्य विरुद्धको अपराधमा तारेख लिन आएका डा.राउतसहित उनका समर्थकलाई प्रहरीले पक्राउ गरी राज्य विरुद्धको संगठित अपराधमा मुद्दा चलाएको छ। जसमा जिल्ला अदालत रौतहटले चार जनालाई साधारण तारेखमा रिहा गरिसकेको छ।
तर डा.राउतलाई विहीबार जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल ईजलासले डा.राउतलाई पुर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको हो।
यसअघि अदालतले साधारण तारेखमा अशोक सिंह, दिनेश यादव, बीरेन्द्र साह र जेपी साहलाई रिहा गरिसकेको छ।
यसअघि सर्वोच्च अदालतले डा.राउतका दाईद्वारा सर्वोच्चमा दायर गरिएका बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको थियो।
न्यायालयले राज्यको दबाबमा उचित न्याय सम्पादन गर्न नसकेको आरोप स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले लगाएका छन्।
हुलाकी न्यूजसँग खानले भने,‘न्यायालय पनि सरकारको छाँया बनेको छ। सम्मानित सर्वोच्चले सफाई दिएको मुद्दा मै बन्दी प्रत्यक्षीकरणको रिट खारेज हुन्छ। प्रमाण नै नभएको मुद्दामा जिल्ला अदालतले कारागार चलान हुन्छ। यो सबै राज्यकै दबाबमा भएको हो। नेपालको न्यायालय पनि स्वतन्त्र रहेको देखिएन।’
यसैबीच स्वतन्त्र मधेश गठबन्धनले शान्तिपूर्ण आन्दोलनको चेतावनी दिएको छ। शान्तिपूर्ण रुपमा राजनीतिक विचार राख्दा पनि सरकारले दबाउन खोजेको आरोप लगाउँदै गठबन्धनका नेताहरुले आन्दोलनको तयारी थालेका छन्।
डा.राउतको राजनीतिक अधिकारसहित मानव अधिकारमाथि पनि हस्तक्षेप भएको बताउँदै अन्तर्राष्ट्रिय निकायसँग पनि सहयोगको अपील गठबन्धनका नेताहरुले गरेका छन्।




धन्यवाद हुलाकी न्युज टिम का सम्पूर्ण सदस्य महानुभव