
हुलाकी न्यूज काठमाडौं : स्वास्थ्य उपचारका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलका नेता महन्थ ठाकुर दिल्लीतिर लागेका छन्।
आइतबार दिउँसो ठाकुर दिल्लीतिर लागेका हुन्। ठाकुर नियमति चेकअपका लागि दिल्ली जाने गरेका छन्।
आठ वर्ष पहिले ठाकुरको छातीमा पेशमेकर जडान गरिएको थियो। जसको नियमति चेकअप हँुदै आएको छ। ठाकुरको उपचार दिल्लीको मेदान्ता अस्पतालमा हुँदै आएको छ।
ठाकुरको सचिवालयका अनुसार उनी एक साता पछि नेपाल फर्किने सम्भावना रहेको छ।
यसैबीच पार्टीमा विवाद भएदेखि हालसम्म राजपा अध्यक्ष मण्डलको बैठक बस्न सकेको छैन। राजपाका नेताहरुले ठाकुर नआउन्जेलसम्म राजपाले कुनै पनि निर्णय लिन नसक्ने बताएका छन्।
राजपाको विधान बमोजिम कुनै पनि निर्णय सहमतिमा गर्नु पर्नेछ र त्यसका लागि छ वटै अध्यक्ष बैठकमा सहभागी हुनु पर्नेछ।
राजपा अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई संयोजकबाट हटाएर राजेन्द्र महतोलाई संयोजक बनाउँदा विवाद देखिएको थियो। तर त्यसको खण्डन ठाकुरले गरिसकेका छन्।



