हुलाकी न्यूज, काठमाडौं:
संघीय समाजवादी फोरम नेपालको सम्पूर्ण जिम्मेवारीबाट उपाध्यक्ष रेणु यादवले राजीनामा दिएकी छिन्। फोरमको पदाधिकारी बैठकबाट यादवलाई प्रदेश २ को संयोजक तथा इन्चार्ज पदबाट हटाउन खोजे पछि उनले राजीनामा दिएकी छिन्।

फोरमका एक पदाधिकारीले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार मंसिर २ गतेदेखि जारी पदाधिकारी बैठकमा पार्टीका महासचिव रामसहायप्रसाद यादव र उपमहासचिव प्रकाश अधिकारीले प्रदेश नम्बर २ को संयोजक र इन्जार्च पदबाट रेणु यादवलाई हटाउने ठाढो प्रस्ताव ल्याएपछि यादवले राजीनामा दिएकी छिन्।

संविधानप्रति असन्तुष्टि जनाउँदै असोज ३ गते फोरम नेपालको प्रदेश २ कमिटीले कालो दिवस मनाएको थियो। केन्द्रको निर्णय विपरीत प्रदेश २ मा कालो दिवस मनाएको आरोप रेणु यादवमाथि पदाधिकारी बैठकमा लगाइएको छ। प्रदेश २ मा कालो दिवस मनाउँदा पार्टीको छवि खराब भएकोले संयोजक पदबाट हटाउनु पर्ने प्रस्तावमा जनाइएको छ।

पदाधिकारी बैठकमा प्रस्ताव आएपछि यादवले पार्टीको केन्द्रीय उपाध्यक्षसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उनको निजी सचिवालयले जनाएको छ। यादवको सचिवालयका अनुसार राजीनामा पत्र पदाधिकारी बैठकमा बुझाइएको छ।

यादवले राजीनमा बुझाएपछि बैठकमा विवाद भएको छ। जसकारण आजको बैठक स्थगित गरिएको छ।

पछिल्लो समय फोरममा उपाध्यक्ष यादव र अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव चल्दै आएको चर्चा छ। संविधान दिवसको अवसरमा कालो दिन मनाएको र सरकारमा सहभागी हुँदा सहमति पत्रमा हस्ताक्षर हुने पर्ने अडान रेणु यादवले लिएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.