
हुलाकी न्यूज, जलेश्वर: मधेश आन्दोलनका सहिदहरुको सम्मानमा महोत्तरीको सदरमुकाम जलेश्वरमा ‘सहिद वाटिका’ स्थापना गरिएको छ।
तेस्रो मधेश आन्दोलनका क्रममा प्रहरीको गोलीबाट जलेश्वरमा मारिएका ६ जना सहिदहरुको प्रतिमा पनि स्थापना गरिएको छ। गणेश चौधरी, रोहन चौधरी, विरेन्द्र विच्छा, अमित कापर, राम शिला मण्डल र राम विवेक यादवको प्रतिमा वाटिकामा राखिएको छ।
जलेश्वर नगरपालिकाले उपलब्ध गराएको जग्गामा प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको आर्थिक सहयोगमा उक्त सहिद वाटिका स्थापना भएको हो। गृहजिल्ला महोत्तरी भएका मुख्य न्यायाधिवक्ता झाले तेस्रो मधेश आन्दोलन पछि उक्त वाटिका निर्माणका लागि पहल थालेका थिए।
विहीबार एक कार्यक्रमका बिच सहिद वाटिकाको अनावरण गरिएको छ।
राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राष्ट्रिय सभा सदस्य बृषेश चन्द्र लाल, प्रतिनिधि सभा सदस्य चन्दा चौधरीलगायत राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो।
यसैगरी विश्लेषक सीके लाल, प्रदेश २ का मुख्य न्यायाधिवक्ता झा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रसहितको उपस्थिति थियो।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनका शहिदहरुको सपना साकार पार्न प्रदेश सरकार तत्पर रहेको बताएका थिए।

तस्बीरः मुख्यमन्त्री राउतको पेजबाट



