हुलाकी न्यूज, काठमाडौं, २४ आश्विन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक अहिले केही बेरमा बस्दैछ । प्रधानमन्त्रीको चयनका लागि आईतबार संसदमा हुने निर्वाचन प्रक्रियामा भाग लिने नलिने बारे निर्णय लिन मोर्चाको बैठक बस्न लागेको तराई मधेश लोकतान्त्रिक पार्टीका प्रवक्ता तथा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लले बताएका छन् ।

यसअघि शनिबार अबेर राति पनि मधेशी मोर्चाको बैठक तमलोपा पार्टी कार्यालयमा बसेको थियो । तर, प्रधानमन्त्री चयनका लागि हुने निर्वाचन प्रक्रियामा भाग लिने नलिने बारे फरक फरक मत आएपछि बैठकले कुनै निर्णय गर्न सकेन । आईतबार १० बजे बस्ने मधेशी मोर्चाको बैठकले यसबारे निर्णय लिने बुझिएको छ ।

तमलोपा पार्टी प्रवक्ता शुक्लका अनुसार मधेशी मोर्चाभित्र निर्वाचनमा भाग लिने र नलिने दुबै पक्षका नेताहरु देखिएका छन् । जसले गर्दा मोर्चाले कुनै ठोस निर्णय लिन नसकेको हो । आईतबार बिहानको बैठकपछि मोर्चाको आधिकारिक निर्णय आउने र त्यसपछि मात्र केही भन्न सकिने उनको भनाई छ ।
प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिष्पर्धा हुँदैछ । आईतबार बिहान ११ बजे व्यवस्थापिका संसदको बैठकले प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.