
हुलाकी न्यूज, जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई अनुसन्धानका लागि थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ।
संगठित अपराधमा डा.राउतसहित ५ जनाको म्याद थप गरिएको हो । उनीहरु २५ दिनदेखि प्रहरी हिरासतमा छन् ।
जिल्ला अदालतकै परिसरबाट आसिन २१ गते आइतबार राज्य बिरुद्धको अपराधमा प्रहरीले पक्राउ गरेको थियो।
राउतसहित अशोक सिंह, बिरेन्द्र साह, दिनेश यादव र जेपी साहलाई अनुसन्धानको नाममा पटक–पटक म्याद थप्न लगाएका नेपाल प्रहरीले हिरासतमा राखी यातना दिने गरेको आरोप स्वतन्त्र मधेश गठबन्धनले लगाएको छ ।
सांगठनिक अपराधको मुद्दामा डा.राउत हरेक महिना रौतहट अदालतमा तारेख लिने गरेका छन्।
फैसला पश्चात गठबन्धनका संयोजक राउतले सामान्य तारेख लिन अदालतमा आउँदा परिसरबाटै पक्राउ गरेर पुरानो प्रकृतिको मुद्दामा पुन मुद्दा चलाएकोमा दुःख व्यक्त गरेका छन्।
कुनै व्यक्तिमाथि एउटै कसूरमा पटक–पटक मुद्दा चलाउँदा वैयक्तिक स्वतन्त्रतामा खतरा उत्पन्न हुने अधिवक्ताहरु बताउँछन्। एउटै व्यक्ति पटक पटक प्रताडित नहोस् भनेर दोहोरो खतरा विरुद्धको हक नेपालको संविधानमा र मानव अधिकार सम्बन्धी हकमा व्यवस्था गरेको अधिवक्ताहरु बताउँछन्।
गठबन्धनका प्रवक्ता अब्दुल खानले डा.राउतलाई यातना दिन हिरासतमा राखिएको दाबी गरेका छन्। उनले कानूनको उल्लंघन गर्दै प्रहरीले राउतलाई हिरासतमा राख्नु कानूनी राज्यको उपहास भएको प्रतिक्रिया दिएका छन्।




