
हुलाकी न्यूज, काठमाडौं : प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका राम मनोहर यादवको लास दुई महिनादेखि अस्पताल मै अलपत्र परेको छ।
भदौ ७ गते उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कालो झन्डा देखाउँदा बर्दियाबाट पक्राउ परेका राम मनोहरको भदौ १५ गते प्रहरी हिरासत मै मृत्यु भएको थियो।
राम मनोहरको प्रहरीको यातनाबाट मृत्यु भएको भन्दै सांसदहरूले छानबिनको माग गर्दै आएको छ भने बाँकेका स्थानीयबासीहरुले नेपालगन्जमा पटक पटक प्रदर्शन गरेका छन्।
तर हालसम्म सहमति नहुँदा राम मनोहरको लास दुई महिनादेखि काठमाडौँस्थित टिचिङ्ग अस्पताल महाराजगन्जमा अलपत्र परेको छ। प्रहरीले अहिलेसम्म राम मनोहरको परिवारको जाहेरी दर्ता गर्न मानेको छैन।
घटनाको छानबिन हुनु पर्ने, परिवारलाई क्षतिपूर्ति दिनु पर्नेलगायतको माग राम मनोहरको परिवारको रहेको छ।
स्वतन्त्र मधेश गठबन्धनका नेता राम मनोहरको लास अलपत्र परेको भन्दै गठबन्धनले पटक पटक सरोकारवालाको ध्यानाकर्षण गराएको प्रवक्ता अब्दुल खानले बताए।
आर्थिक अवस्था कमजोर रहेको राम मनोहर यादवको परिवारलाई विदेशमा रहेका मधेशीहरुले आर्थिक सहयोग गर्दैछ। गैर आवासीय मधेशी संघ (एनआरएमए) कुवेतले हालै ४२ हजारभन्दा बढी सहयोग गरेको छ। यसै गरी राम मनोहरको परिवारलाई सहयोगका लागि अपिलसमेत गरिएको छ।



