
हुलाकी न्यूज, राजविराज : सप्तरीको बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमार सिंहले सार्वजनिक जग्गा निजी बनाउन खोजेको भन्दै विरोध भएको छ।
मेयर सिंहका परिवारले सार्वजनिक कार्यका लागि विक्री गरिसकेको जग्गा हड्प्न खोजेको भन्दै स्थानीय युवाहरुले संघर्ष समिति बनाएर विरोध थालेका छन्। अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगमा छानविनका लागि निवेदनसमेत दर्ता भएको छ।
साविकको बोदेबर्साइन गाविस १ र ७ मा रहेको सार्वजनिक जग्गा बर्तमान मेयर सिंहले आफ्नो नाममा नामसारी गरेका छन्। मेयरका बुबा अनिरुद्व सिंह यादवको नाममा रहेको जग्गा विगतमा सार्वजनिक जग्गा रहे पनि अहिले उनीहरुले हड्प्न खोजेको संघर्ष समितिले जनाएको छ।
संघर्ष समितिले सप्तरीको विभिन्न स्थानमा बाँडेको अपिलमा बुबा अनिरुद्वकुमार सिंह यादवको नाममा रहेको सार्वजनिक जग्गा अहिले मेयरले अफ्नो नाममा नामसारी गरी हडप्न खोजेका उल्लेख छ।
अपिलमा उल्लेख भएअनुसार अनिरुद्वको नाममा रहेको किता नम्बर ६०९, ६१४ र ६१५ को जग्गामध्ये किता नम्बर ६०९ को २ कठ्ठा १० धुर जग्गामा दुईतल्ले घर २०२६ सालमा नै निर्माण भएको थियो। यही घरमा बोदे बर्साइन गाविसको कार्यालय रहँदै अहिले वडा नम्बर १ को कार्यालय संचालन भइरहेको छ।
पञ्चायतकालमा नै भवन निर्माण भएपछि किता नम्ब्र ६०९ मध्येकै १ बिघा जग्गाको पैसा अनिरुद्वप्रसाद यादवका बुवाले लिएको र केही दिन मै रजिष्ट्रेशन गरिदिने भन्दाभन्दै नगरेको जनाइएको छ।
संघर्ष समितिका संयोजक आलोक यादवका अनुसार २०२६ सालदेखि २०४५ सालसम्म अनिरुद्वकै परिवारबाट गाविसको प्रधानपञ्च भई कामकाज गरेको र तैपनि जग्गा सरकारको नाममा गरिएको छैन। तत्कालिन अवस्थामा रकम लिँदा उल्लेखित जग्गा पास गरिदिने शर्तनामाको कागज गराइएको र त्यो कागज गायव पारिएको उनको भनाई छ। सोही परिवारबाट लामो समय प्रधानपञ्च बनेपछि कागज लुकाइएको यादवले बताए।
उनका अनुसार उक्त दुई बिघा जग्गामा पशु किनबेच गर्ने बजार सञ्चालन हुँदै आएको छ। पशु बजारका लागि भवनसमेत निर्माण गरिएको छ। सोही स्थानमा रहेको पोखरीको ठेक्का बापत आएको रकम गाविसको खातामा जम्मा भइरहेको प्रमाण सरकारी निकायमा रहेको संघर्ष समितिको दावी रहेको छ।
तर मेयर सिंहले उक्त जग्गा आफ्नो पुर्खाको रहेको बताउँदै आफुले भोग चलन गर्न थालेको प्रतिक्रिया दिए।



