काठमाडौं- व्यवस्थापिका–संसदले बहुमतीय प्रक्रियाद्वारा ३८ औं प्रधानमन्त्री आज चयन गर्दैछ। आइतबार बिहान ११ बजे डाकिएको संसद बैठकले नयाँ प्रधानमन्त्री निर्वाचन गर्नेछ।

प्रधानमन्त्रीका लागि संसदको पहिलो र दोस्रो ठूलो दल कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। शनिबार दिउँसो व्यवस्थापिका–संसद भवन, नयाँ बानेश्वर पुगेर दुवै नेताले उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एमालेका अध्यक्ष ओली पार्टीका सभासद, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित संसद भवन पुगेका थिए। उनका प्रस्तावक एमाओवादी अध्यक्ष दाहाल र समर्थक राप्रपा नेपालका अध्यक्ष थापा छन्।

ओलीको समर्थनमा थापासहित सिपी मैनाली, विश्वेन्द्र पासवान, शिवलाल थापा, प्रेमबहादुर सिंह, चित्रबहादुर केसी, कुमार खड्का, रामकुमार राई, हरिचरण साह, लक्ष्मण राजवंशी, यशोदाकुमारी लामा, दीपक बोहोरा, एकनाथ ढकाल, मेघराज नेपाली निषाध र जयदेव जोशीले हस्ताक्षर गरेका छन्।

संसदमा रहेका ३० राजनीतिक दल र २ स्वतन्त्र सांसदमध्ये ओलीकै पक्षमा बढी मत देखिएको छ । ओलीलाई १७ राजनीतिक दल र १ स्वतन्त्रले समर्थन जनाइसकेका छन्, नेमकिपाले पनि मतदान गर्ने आश्वासन दिएको छ।

ओलीको प्रस्तावक र समर्थक दलमा रहेका सांसदको संख्या ३ सय ३० पुगेको छ भने कांग्रेस उम्मेदवार कोइरालाको पक्षमा अन्य कुनै पनि दल खुलेर लागेका छैनन्। कांग्रेस उम्मेदवार कोइरालाको प्रस्तावक शेरबहादुर देउवा र समर्थक रामचन्द्र पौडेल छन्।

उम्मेदवारी दर्तापछि कोइरालाले जसले जिते पनि सहमतिका आधारमा अघि बढ्ने बताए । कांग्रेस र एमालेको छुट्टाछुट्टै निर्णयपछि दुवैको उम्मेदवारी परेको कोइरालाको भनाइ थियो। ‘नेपाली कांग्रेसको निर्णयअनुसार मैले उम्मेदवारी दिएको हुँ,’ कोइरालाले उम्मेदवारी दर्तापछि संवाददातासँग भने, ‘उहाँले जित्नुभयो भने मैले कोअपरेट गर्नुपर्छ, मैले जितेँ भने पनि उहाँले सहयोग गर्नुपर्यो।’

अबको बाटो मेलमिलाप र सहकार्यकै भएको उनले दाबी गरे। ‘मेलमिलापको नीति, सहमति, सहकार्य र एकता हुनैपर्छ,’ उनले भने, ‘उहाँहरुको पनि पार्टीले निर्णय गर्यो। हाम्रो पनि पार्टीले निर्णय गर्यो। यो प्रजातान्त्रिक मूल्य र मान्यता पनि हो। यो कुनै अनौठो कुरा भएको छैन। काम गर्नलाई कसैले रोक्दैन। एक–अर्कालाई सहयोग र सहमति गरेरै जाने हो।’

एमाले अध्यक्ष ओलीले विगतमा भएको सहमतिका आधारमा आफूले उम्मेदवारी दिएकाले कांग्रेसले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे। ‘संविधानसभाको दोस्रो निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बनाऊँ भन्ने हामी नै हौं,’ ओलीले भने, ‘कांग्रेसले एक वर्षभित्र संविधान बनाएर एमालेलाई दिने प्रतिबद्धता जनाएको थियो। जेठ २५ गते भएको १६ बुँदे सहमतिका बेला पनि प्रमुख दलबीच भद्र सहमति भएको हो। अहिलेको आवश्यकतालाई ध्यानमा राखेर देशमा देखिएको परिस्थिति र चुनौतीलाई सामना गर्न, भूकम्पको क्षति सामना गर्ने सन्दर्भमा प्रमुख पार्टी मिलेर जानुपर्ने आवश्यकता हो। सहमति पनि भएको हो। कांग्रेसले हामीलाई वचन पनि दिएको हो।’

ओलीले कांग्रेससँगको सहमतिपछि नै पार्टी र संसदीय दलबाट निर्णय गरिएको बताए। ‘पार्टी र संसदीय दलबाट निर्णय गर्यौं,’ उनले भने, ‘भद्र सहमतिको आधारमा अघि बढौं भनेको हो। साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएको हो। विगतको सहमति तोड्न हुन्न। देशको आवश्यकतालाई पनि बेवास्ता गर्न हुन्न, कांग्रेस पनि सहमतिमा आउँछ।’

आइतबार हुने मतदानमा संसदमा तत्काल कायम रहेको संख्याको बहुमत ल्याउनुपर्नेछ। अहिले व्यवस्थापिका संसदमा जम्मा ५ सय ९८ सांसद छन्। प्रधानमन्त्री चुनिनका लागि कम्तीमा ३ सय मत प्राप्त गर्नुपर्नेछ।

व्यवस्थापिका संसदमा हुने मतदानमा कुनै पनि उम्मेदवारको पक्षमा बहुमत कायम हुन नसके पुनः निर्वाचनका लागि अर्को मिति तोकिन्छ। तीनपटकसम्म पनि निर्वाचित हुन नसके पुनः प्रक्रिया सुरु गर्नुपर्ने नियमावलीमा व्यवस्था छ।

समाचार/तस्विर : नागरिक दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.