
हुलाकी न्यूज, मलंगवा : सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ बाट जन्म भएका सबै बालिकाको नाममा मुद्दती खाता खोली २७ हजार जम्मा गर्ने भएको छ।
‘शिक्षित बेटी, बालिग पुतोह, स्वच्छ र समुन्नत गाउँपालिका’ भन्ने मूल नाराका साथ उक्त योजना ल्याइएको छ।
साउन १ गतेदेखि जन्म भएका बालिकाको नाममा गाउँपालिकाले २० हजार, अभिभावकले ५ र खाता खोलिने नेपाल बंगलादेश बैंक लिमिटेडले २ हजार गरि २७ हजारको मुद्दती खाता खोलिने गाउँपालिकाले जनाएको छ।
आइतवार चन्द्रनगर गाउँपालिका २ बबरगंजमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष महेन्द्र महतो र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गनाले सम्झौता पत्रमा संयुक्तरुपमा हस्ताक्षर गरेका छन्।
२० वर्षपछि पैसा लिनका लागि बालिकाको अभिभावकले निजी जग्गा वा गाउँपालिकाले तोकेको सार्वजनिक जग्गामा ३५ दिनभित्र जन्मदर्ता बनाई ५ वटा बिरुवा रोप्नु पर्ने र विद्यालय शिक्षा पुरा नगरी २० वर्षभन्दा कम उमेरमा बिहे गरेमा खातामा जम्मा भएको रकम नपाउने सम्झौता पत्रमा उल्लेख गरिएको छ।
छोरीलाई शिक्षित, बालिग उमेरमा बिबाह र गाउँपालिकालाई हराभरा बनाउनका लागि यस्तो अभियान गाउँपालिकाले ल्याएको गाउँपालिकाका कार्यकारी अधिकृत टेक प्रसाद भट्टराईले बताएका छन्। जम्मा भएको रकममा बैंकले ८ प्रतिशत ब्याज दिने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
गाउँघरमा छोरीलाई नपढाउने र कम उमेरमा बिहे गर्ने परम्परालाई तोड्नका लागि यस्तो नीति गाउँपालिकाले लागु गरेको अध्यक्ष महेन्द्र महतोले बताए।
‘अहिले बालिकाहरुलाई कम पढाई, कमै उमेरमा बिहेबारी हुने परम्पराले हाम्रो समाज पछाडी परेको छ’, महतोले भने, ‘छोरालाई राम्रो विद्यालयमा पढाउने र छोरीलाई घरमा काम लगाउने संस्कार बढ्दो रुपमा मधेशको ग्रमिण क्षेत्रमा छ।’
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, बिशिष्ठ अतिथिमा प्रदेश २ का भौतिक पूर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनल, उधोग, बन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय, सामाजिक बिकाश मन्त्री नवलकिशोर साह, सामाजिक बिकाश राज्य मन्त्री अभिराम शर्मा सहभागी थिए।
यसैगरी यसै क्षेत्रका प्रदेश सभा सदस्य उपेन्द्र महतो, सप्तरीका प्रदेश सभा सदस्य बिक्की यादव र सर्लाहीकै प्रदेश सभा सदस्य गौरी नारायण साहलगायतको उपस्थिति रहेको थियो।
चन्द्रनगर गाउँपालिकाले उदाहरणिय कार्य गरेको र यसको अनुकरण अन्य गाउँरनगर पालिकाले पनि गर्नु पर्ने बिचार कार्यक्रममा सहभागीहरुले बताएका थिए।
यस अभियानमा लाग्ने रूखको बिरूवा बन कार्यालयले निःशुल्क उपलब्ध गराउने उधोग, बन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले घोषणा गरे।
त्यस्तै, बिपन्न बर्गले तिर्न नसक्ने ५ हजार सामाजिक बिकाश मन्त्रलयले तिर्ने घोषणा सामाजिक बिकाश मन्त्री नवलकिशोर साहले गरे।



