
हुलाकी न्यूज, जनकपुरधाम : मिथिला चित्रकला क्षेत्रकी चर्चित सुनौना ठाकुरले जनकपुरधाम मै मिथिला आर्ट ग्यालरीको स्थापना गरेकी छिन्।
जनकपुरधामको जानकी मन्दिर मै ‘सुनैना मिथिला आर्ट ग्यालरी’को शुक्रबार उद्घाटन गरिएको छ।
मधेशको मिथिला क्षेत्रका विशेष पेन्टिङ्गहरु राखिएको ग्यालरीमा पारम्परिक तथा आधुनिक पेन्टिङ्गहरु समावेश रहेको ठाकुरले बताएकी छिन्।
हुलाकी न्यूजसँग कुराकानी गर्दै ठाकुरले भनिन्,‘व्यवसायिक रुपमा ग्यालरी स्थापना गरेर मिथिला पेन्टिङ्गको प्रर्बधन गर्न खोजेकी छु। हामीले पेन्टिङ्ग सिक्न चाहनेहरुलाई सिकाउने पनि छौं।’
मिथिला चित्रकारहरु धेरै भएपनि व्यवसायिक नभएकोले कलाकारहरुलाई आर्थिक समस्या हुने गरेको उनले बताइन्। ग्यालरी स्थापना भएपछि कलाकारहरुलाई पेन्टिङ्ग बेच्नमा सहज हुने उनले विश्वास व्यक्त गरिन्।



